सिटिजन्स म्युचुअल फण्ड-२ का इकाईधनीलाई औसत वार्षिक १०.४०% नगद लाभांश, रकम भुक्तानी सुरु
१ मंसिर, काठमाडौं।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना सिटिजन्स म्युचुअल फण्ड-२ (CMF2) ले आफ्नो सात वर्षे निर्धारित अवधि सफलतापूर्वक पूरा गरी खारेजी प्रक्रिया सम्पन्न गरेको छ ।
रु. ५६ करोड कोष आकार रहेको उक्त योजना मिति २०७६ असार २२ गते देखि सञ्चालनमा आएकोमा २०८३ असार २१ गते सात वर्षे अवधि पूरा गरी परिपक्व भएको थियो ।
योजनाले आफ्नो सञ्चालन अवधिभर इकाईधनीहरूलाई वार्षिक नगद लाभांश वितरण गर्दै औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको छ । योजनाको खारेजी सम्बन्धी प्रक्रिया सम्पन्न भएसँगै इकाईधनीहरूलाई फिर्ता गर्नुपर्ने रकम वितरण गर्ने कार्य समेत प्रारम्भ भइसकेको छ ।
नेपाली धितोपत्र बजारमा विभिन्न समयमा देखिएका उतार-चढाव, बजार मूल्यमा आएको गिरावट तथा चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद योजनाले निरन्तर प्रतिफल वितरण गर्न सफल हुनु क्यापिटलको व्यावसायिक लगानी व्यवस्थापन क्षमताको महत्वपूर्ण उपलब्धि हो । यस अघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड-१ (CMF1) मार्फत समेत औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गर्न क्यापिटल सफल भएको थियो ।
सिटिजन्स क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष व्यवस्थापन मार्फत लगानीकर्ताहरूलाई राम्रो प्रतिफल प्रदान गर्दै व्यवस्थित तथा दीर्घकालीन लगानी संस्कृतिको विकासमा योगदान पुऱ्याउँदै आएको छ । हाल कम्पनीले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना तथा सिटिजन्स सन्तुलित योजना सहित विभिन्न योजनाहरू व्यवस्थापन गरिरहेको छ ।
यसको निरन्तरता स्वरूप कम्पनीले नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना सिटिजन्स सुपर ५० (Citizens Super 50) नामक योजना सञ्चालनमा ल्याउँदैछ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यस योजनाको इकाई निष्काशन मिति २०८३ मंसिर २ गतेदेखि सुरु हुने तय गरिएको छ ।
१० वर्षे अवधि रहेको यस योजनाको प्रारम्भिक याजनाको आकार रु. १ अर्ब रहेको छ भने माग तथा आवेदनको अवस्था अनुसार अधिकतम रु. १ अर्ब २५ करोड सम्मको योजना आकार कायम गर्न सकिने व्यवस्था रहेको छ । यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरूले इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् ।
सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो सामूहिक लगानी कोष व्यवस्थापन क्षमता तथा सेवाको गुणस्तरका लागि ईक्रा नेपाल लि.बाट AMC Quality 3+ रेटिङ्ग प्राप्त गरेको छ ।
विगतका सामूहिक लगानी योजनाहरूको व्यवस्थापनबाट हासिल गरेको अनुभव, संस्थागत क्षमता तथा व्यावसायिक दक्षतालाई उपयोग गर्दै सिटिजन्स सुपर ५० योजनाको लगानी व्यवस्थापनलाई समेत व्यवस्थित, अनुशासित तथा व्यावसायिक बनाउने कम्पनीको लक्ष्य रहेको छ ।
उक्त योजना मार्फत दीर्घकालीन लगानीको अवसर प्रदान गर्दै पूँजी बजारमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार हुने अपेक्षा कम्पनीले लिएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ रहेका छन् । कम्पनीले संस्थागत सुशासन, लगानीकर्ता हित संरक्षण तथा पूँजी बजारको विकासलाई प्राथमिकतामा राख्दै आफ्ना सेवाहरू विस्तार गर्दै आएको छ ।
For More: Citizens Mutual Fund-2 Delivers


