२१ जेठ, काठमाण्डौं।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सप्तरीको राजविराजस्थित महादेवा गाउँपालिकाको चिमटी टोलका ४६ वटा अग्नि पीडित परिवारहरुलाई राहत स्वरुप खाद्यान्न सामग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ ।
गत वैशाख १८ गते भएको आगलागीबाट ती परिवारका घर तथा चौपायाहरु जलेर नष्ट भएका थिए । घर जलेर घरबारविहीन भएका परिवारहरुलाई सानै भए पनि सहयोग गर्न पाउँदा पीडितहरुको दिनचर्यामा केही दिनको लागि भए पनि सहजता आउने बैंकले विश्वास लिएको छ ।
पीडित परिवारलाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबिन, लत्ता कपडा, पाल, सारी तथा गम्छा लगायतका सामग्री वितरण गरिएको बैंकले जनाएको छ ।
पीडितहरुलाई राहत वितरण कार्यक्रममा बैंकका मधेस प्रदेश प्रमुख, क्लस्टर प्रमुख, राजविराज शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारीहरु तथा टोलका समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति थियो । वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, प्याज, तेल, सोयाबिन र अन्य लत्ता कपडाहरूमा पाल, सारी तथा गम्छा रहेको छ ।
बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जानकारी गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
\हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।