६ भदौ, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको छ ।
हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं ३ मा बैंकले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ ।
यस अघिनै बैंकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगंज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल एवं नेपालगंज र कर्णाली प्रदेशको सुर्खेत स्थीत आफ्नै भवनबाट प्रदेश कार्यालय एवं क्लस्टर कार्यालयहरु सञ्चालनमा ल्याइसकेको छ ।
सुविधा सम्पन्न आधुनिक यस धनगढी उपमहानगरपालिका वडा नं.३ स्थित भवनबाट सुदूरपश्चिम प्रदेश कार्यालयका अलवा धनगढी शाखा समेत सञ्चालनमा आएको छ ।
हाल सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका वडा नं. ०४ मा सञ्चालनमा रहेको यस बैंकको धनगढी शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी ८०० मिटर दुरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो ।
आफ्नै भवनबाट कारोबार सञ्चालन भएको अवसर पारी बैंकमा आज अयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सुदूरपश्चिम स्थीत यस धनगढी उप-महानगर पालिकामा आफ्नै भवनबाट शाखा कार्यालय एवं प्रदेश कार्यालय सञ्चालन गर्न पाउनु बैंकको लागी एक कोशे ढुङ्गा भएको बताए र सुदूरपश्चिम प्रदेश बैंकको लागी एक महत्वपूर्ण व्यवसायीक केन्द्र रहेको र आगमी दिनमा अझ उत्कृष्ट बैंकिङ्ग सेवा सुविधाहरु लिएर आउने प्रतिवद्धता समेत व्यक्त गरे। समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरु कैलाली, डडेलधुरा, बझाङ, अछाम, दार्चुला, कञ्चनपुर र बैतडीमा गरी यस बैंकले १० वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
सुविधा सम्पन्न यीे शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।