सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न
३२ असार, काठमाडौं।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणमा वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८२/८३ मा देशका सातै प्रदेशमा वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतका विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैंकले आफ्ना १४८ शाखा कार्यालयहरूमार्फत विभिन्न उमेर समूहका महिला, विद्यार्थी, कृषक, मजदुर तथा वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू लक्षित गरी सञ्चालन गरेको यस अभियानबाट करिब १० हजार सर्वसाधारण लाभान्वित भएका छन् ।
कार्यक्रममा कोशी प्रदेशका २०, मधेशका २१, बागमतीका ४३, गण्डकीका १३, लुम्बिनीका ३२, कर्णालीका ९ र सुदूरपश्चिम प्रदेशका १० शाखाहरू सक्रिय रूपमा सहभागी थिए ।
डिजिटल बैंकिङको विकाससँगै बढ्दै गएको वित्तीय अपराध र जोखिमबारे सचेत गराउँदै बैंकले नगद लेनदेन तथा विप्रेषण (रेमिट्यान्स) का लागि बैंकिङ प्रणालीकै प्रयोग गर्न सहभागीहरूलाई आग्रह गरेको छ ।
यसैगरी, बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामुदायिक विद्यालय र स्थानीय स्वास्थ्य केन्द्रहरूलाई सहयोग पुर्याएको छ । यसै क्रममा बैंकको सार्केगाड शाखाले हुम्लाको सार्केगाड गाउँपालिका वडा नं. ४ मा रहेको श्री हिमज्योति माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ८ सम्मका १९६ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय पोशाक र न्यानो स्वेटर वितरण गरेको छ ।
ग्रामीण क्षेत्रका विपन्न विद्यार्थीहरूलाई लक्षित गरी गरिएको यस सहयोगले उनीहरूको पठनपाठनमा टेवा पुग्ने र समाजमा सकारात्मक परिवर्तन आउने विश्वास बैंकले व्यक्त गरेको छ ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधिबाट सम्मानित सिटिजन्स बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीन डिजिटल सेवाहरू भित्र्याउँदै आएको छ ।
बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याइसकेको छ भने हालसालै नवयुवाहरूका लागि ‘सिटिजन्स जेन-जी सेभिङ अकाउन्ट’ र एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ सुरु गरेको छ ।
यसका साथै फ्रिलान्सरहरूलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’, मोबाइल एपबाटै सेयर आवेदन र सी-आस्वा (C-ASBA) सम्बन्धी सीआरएन नम्बर लिन सकिने सुविधा तथा अन्य बैंकका ग्राहकले समेत क्यूआर स्क्यान गरी नगद भुक्तानी लिन सक्ने ‘क्रस बैंक टेलर’ जस्ता आधुनिक सेवाहरू प्रदान गर्दै आएको छ ।
हाल बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइहरू मार्फत २० लाख ४५ हजारभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
For More: Citizens Bank Financial Literacy


