सिटिजन्स बैंकको २० औं वार्षिक साधारणसभाबाट ४ प्रतिशत लाभांश प्रस्ताव
३१ भदौ, काठमाडौं।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २०औं वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज मिति २०६३ साल भाद्र ३१ गते बुधवार बसेको ५२१औं सञ्चालक समितिको बैठकले शेयरधनी महानुभावहरूलाई आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व. २०८२/८३ को वितरण योग्य मुनाफाबाट २०६३ आषाढ मसान्तको चुक्तापुँजी रु. १५,५०,७४,६३,६१४/- को ३.८० प्रतिशतले हुने रु. ५८,९२,८३,६१७/३४ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२० प्रतिशतले हुने रु. ३,१०,१४,९२७/२३ सहित जम्मा रु. ६२,०२,९८,५४४/५७ लाभांश प्रस्ताव गरेको छ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरूलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ।
२०६४ साल बैशाख ७ गतेबाट कारोबार सञ्चालन गरि विगत २० वर्ष देखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस सिटिजन्स बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै शेयरधनीहरूलाई निरन्तर लाभांश वितरण गर्न सफल भएको छ।
बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेका छ भने, प्रस्तावित लाभांश सहित पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत रहेको छ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर्स २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेभिङ्ग अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन. नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग इकाइहरूबाट २० लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ।

