क्यान महासंघ झापा शाखाको अध्यक्षतामा कृष्णप्रसाद घिमिरे चयन

CAN Federation Jhapa Chapter
Share It On:

१९ मंसिर २०७९, काठमाडौं।

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखाको आज सम्पन्न जिल्ला अधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

घिमिरे निवर्तमान कार्यसमितिमा सचिव थिए ।

बिर्तामोडमा आज आयोजित आठौं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो । क्यानको विधानले शाखाको पहिलो बैठकबाट पदाधिकारीहरु तोक्ने तथा सदस्यहरु मनोनयन गर्ने व्यवस्था गरे अनुसार अधिवेशनले एकजना अध्यक्ष र ८ जना सदस्यहरु चयन गरेको हो ।

क्यान झापाको सदस्यहरुमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ पदेन रहनेछन् । सदस्यहरुमा लोकप्रिय खनाल, विनोद श्रेष्ठ, रोशन बुढाथोकी, योगेश राजवंशी र पंकज पोखरेल निर्वाचित भएका छन् ।

यस्तै नवनिर्वाचित सदस्यहरुमा सुशिल कडरिया, खगेन्द्र मिश्र र विनोद खनाल रहेका निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र भण्डारीले घोषणा गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष घिमिरेलाई निर्वाचन अधिकृत अधिवक्ता भण्डारीले सपथ गराएका थिए भने निर्वाचित सबैजनालाई निर्वाचन समितिको तर्फबाट पुष्पाञ्जली सिन्हाले प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

क्यान झापा शाखाका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय सदस्य भुपेन्द्र मैनालीको प्रमुख आतिथ्यमा वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न गरिएको हो ।

साधारणसभामा क्यान झापाको वार्षिक प्रगति प्रतिवेदन सचिव कृष्णप्रसाद घिमिरेले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विनोद श्रेष्ठले वाचन गरी सुनाएका थिए । ती दुवै प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो ।

साधारणसभा उद्घाटन समारोहका प्रमुख अतिथि क्यान महासंघ नेपालका केन्द्रीय सदस्य भुपेन्द्र मैनालीले झापाले गतवर्ष धेरैवटा रचनात्मक कार्यक्रमहरु गरेर उत्कृष्ट जिल्लाको पुरस्कार प्राप्त गरेको स्मरण गराउँदै नयाँ नेतृत्वबाट पनि यस्तै अपेक्षा रहेको बताए । क्यान झापाले स्कूल क्याम्पसमा अध्ययनरत युवामाझ साइवर क्राइम सम्बन्धी तालिम दिएर तथा विभिन्न संघ–संस्थामा आवद्ध ग्रामीण महिलाहरुलाई लेखा प्रणाली व्यवस्थापनमा सहजीकरण गरेर उदाहरणीय काम गरेको धारणा राखेका थिए ।

कार्यक्रममा गोमेन्द्र महाविद्यालयका प्राचार्य डा. रुपक खनालले विगत २२ वर्षदेखि कम्प्युटर शिक्षा प्रवाहमा गोमेन्द्रको योगदानको चर्चा गर्दै क्यानमा आवद्ध अधिकांश युवा सोही शैक्षिक प्रतिष्ठानको उत्पादन भएकोमा गौरव महसुस भएको बताए ।

सूचना प्रविधिको क्षेत्रमा भविष्यमा अझ फड्को मार्नुपर्ने आवश्यकता औंल्याउँदै डा. खनालले पूर्वाञ्चल विश्वविद्यालयले निकट भविष्यमा सुरु गर्ने एआई कोर्सले युवामाझ आकर्षण बढाउने धारणा राखे ।

साधारणसभामा मन्तब्य राख्दै साझामञ्च डटकमका प्रधान सम्पादक गोपाल काफ्लेले कोरोना महामारी होस् वा अन्य जस्तोसुकै परिस्थितिमा पनि क्यान झापाले रचनात्मक कार्यक्रम गरेर युवाको मन जितेको बताए ।

क्यानको सदस्यता विस्तारमा ध्यान पुर्याउन कार्यसमितिलाई सुझाव दिँदै उनले एक वर्षमा गरेका कार्यक्रमहरु अनि वित्तीय सन्तुलन मिलाएर सम्पन्न भएको अभियानहरुको प्रशंसा गरेका थिए ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *