आयात–निर्यात ठप्पः वीरगञ्ज भन्सारको दैनिक ५७ करोडको राजस्व सङ्कलन शून्य
२३ मंसिर, काठमाडौं ।
नेपालको राष्ट्रिय राजस्वमा सर्वाधिक योगदान दिने वीरगञ्ज भन्सार कार्यालयको दैनिक ५७ करोड रुपैयाँभन्दा बढी आम्दानी आज (सोमबार) शून्यमा झरेको छ ।
भन्सार एजेन्ट महासंघ नेपालले बिहानैदेखि ’पेन डाउन’ (कागजी कार्य बहिष्कार) आन्दोलन घोषणा गरेपछि देशको प्रमुख व्यापारिक नाकाबाट हुने सम्पूर्ण आयात निर्यात ठप्प भएको हो ।
भन्सार एजेन्टहरूले भन्सार ऐन २०८२ मा समावेश गरिएका केही प्रावधानको विरोध गर्दै आन्दोलनलाई देशव्यापी बनाएका हुन् ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले भन्सार एजेन्टहरूको कामकाज बन्द भएपछि कार्यालयको सम्पूर्ण गतिविधि अवरुद्ध भएको र राजस्व सङ्कलन शून्य भएको पुष्टि गरे । आइतबारदेखि नै छलफल जारी रहेपनि महासंघले देशव्यापी आन्दोलनमा जाने निर्णय गरेपछि यो अवस्था आएको उनको भनाइ छ ।
भन्सार एजेन्ट संघ वीरगञ्जका अध्यक्ष राजमान तामाङका अनुसार उनीहरूले भन्सार ऐन २०८१ को उपदफा ७१ को (झ) मा गरिएको व्यवस्था हटाउन माग गरेका छन् ।
यो प्रावधानअनुसार स–साना मानवीय त्रुटिका कारण घोषणा गरिएको रकमको १० प्रतिशत जरिवाना भन्सार एजेन्टले नै तिर्नुपर्ने अव्यावहारिक व्यवस्था छ, जसले एजेन्टहरूलाई मारमा पारेको छ । उक्त व्यवस्था खारेज नभएसम्म काममा नफर्किने एजेन्टहरूको अडान छ ।
वीरगञ्ज भन्सार कार्यालयले मासिक साढे सत्र अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गर्ने गर्दछ। यो नाकाबाट नेपालका लागि ७५ प्रतिशतभन्दा बढी खाद्य पदार्थ र ७० प्रतिशतभन्दा बढी औद्योगिक कच्चा पदार्थ तथा पेट्रोलियम पदार्थको आयात हुने गर्दछ ।
राजस्वको प्रमुख स्रोत र अर्थतन्त्रको मेरुदण्ड मानिने यो नाकाको अवरोध लम्बिएमा यसको नकारात्मक प्रभाव देशभरका उपभोक्ताहरूले आपूर्ति सङ्कट र मूल्यवृद्धिको रूपमा व्यहोर्नुपर्ने अवस्था आउने चेतावनी सरोकारवालाहरूले दिएका छन् ।
For More:-Birgunj customs revenue halt



