भोटेकोशी बाढी: एनसेललाई ९ करोड बढीको क्षति, प्रभावित क्षेत्रमा निःशुल्क सेवा जारी
१७ भदौ, काठमाडौं।
भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण दूरसञ्चार सेवा प्रदायक एनसेललाई ठूलो आर्थिक क्षति पुगेको छ।
बाढीले रसुवाको टिमुरेमा रहेको मोबाइल टावर र ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइनमा पूर्ण रूपमा क्षति पुर्याएको कम्पनीले जनाएको छ। प्रारम्भिक आकलन अनुसार यस विपद्बाट एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भएको छ।
३ लाखभन्दा बढी ग्राहकलाई निःशुल्क सेवा
बाढी प्रभावित क्षेत्रका बासिन्दालाई राहत दिन एनसेलले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित ग्राहकहरूका लागि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ।
विपद्को समयमा आफ्ना परिवार र आफन्तसँग सम्पर्कमा रहन सहज होस् भneर सुरुमा तीन दिनका लागि दिइएको यो सेवा पछि थप सात दिनका लागि बढाइएको थियो।
कम्पनीका अनुसार हालसम्म प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकले यो सुविधा लिइसकेका छन् भने निःशुल्क सेवाको कुल मूल्य मात्रै १ करोड रुपैयाँ नाघेको छ।
टावर मर्मत र बन्द सिम सुचारु
बाढी र पहिराका कारण नुवाकोट, रसुवा र धादिङका २७ वटा टावर प्रभावित भएका थिए। तीमध्ये २४ वटा साइटहरू पुनः सञ्चालनमा आइसकेका छन्।
बाँकी तीनवटा टावरहरू (रसुवाको टिमुरे, घट्टेखोला र नुवाकोटको त्रिशूली, बिदुरस्थित टावर) पनि सञ्चालनमा ल्याउन प्राविधिक टोली फिल्डमा खटिएर काम गरिरहेको छ।
त्यसैगरी, ब्यालेन्स नभएर वा अन्य कारणले सेवा बन्द भएका २५ हजारभन्दा बढी ग्राहकका सिमकार्डहरू पनि एनसेलले पुनः सक्रिय गरिदिएको छ, जसले गर्दा संकटको बेला उनीहरूलाई सञ्चारमा सहजता भएको छ।
सुरक्षा र सचेतनाका लागि अपिल
नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा एनसेलले जनचेतनामूलक सन्देश तथा कल टोनसमेत सम्प्रेषण गर्दै आएको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्दा आधिकारिक खाता, क्यूआर र लिंक भए नभएको राम्ररी सुनिश्चित गर्न अपिल गरेको छ।
साथै, सामाजिक सञ्जालमा विपद्का विभत्स तथा हृदयविदारक फोटो र भिडियोहरू नराख्न र राखिसकेका भए पनि तुरुन्त हटाउन अनुरोध गरिएको छ।
For More: Bhotekoshi Flood Ncell Damages

