फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
१७ कात्तिक, काठमाडौं।
फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. (MAW Vridhi Commercial Vehicles Pvt. Ltd.) अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने उद्देश्यसहित ती पिकअप गाडीहरू हस्तान्तरण गरेको हो।
‘Together Towards Greener Future’ भन्ने नाराका साथ आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धतालाई उजागर गरेको छ।
भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गर्नुले व्यावसायिक दक्षताका साथै वातावरणीय उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकता दिएको स्पष्ट पार्छ।
कम्पनीका अनुसार फोटोन TM1 विद्युतीय सवारीसाधन वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि अत्यन्तै प्रभावकारी मानिन्छ।
एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (CEO) अनिल कुमार बरालले भाटभटेनीसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोगमा नयाँ आयाम थप्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “भाटभटेनीजस्तो लाखौँ नेपालीसम्मुख विश्वास जित्न सफल संस्थासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ। १४ वटा फोटोन TM1 विद्युतीय सवारीसाधनको हस्तान्तरण व्यावसायिक उपलब्धि मात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण हो। नेपाली व्यवसायको आवश्यकता अनुसार विश्वसनीय र आधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराउनु हाम्रो मुख्य प्राथमिकता हो।”
कार्यक्रममा बोल्दै भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले सधैँ प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो।
फोटोन मोटर्ससँगको यो सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न मद्दत पुर्याउने र नेपालका अन्य व्यावसायिक संस्थाहरूलाई पनि विद्युतीय सवारी साधन अपनाउन प्रोत्साहित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र गतिमा बढिरहेको सन्दर्भमा व्यावसायिक ढुवानी क्षेत्रमा पनि यसको माग र सम्भावना व्यापक बन्दै गएको छ। इन्धनको खर्च घटाउन र वातावरणीय प्रभाव न्यूनीकरण गर्न विद्युतीय व्यावसायिक सवारीसाधन भरपर्दो विकल्प साबित भएका छन्।
यस हस्तान्तरणसँगै फोटोन मोटर्स नेपालले नेपाली विद्युतीय व्यावसायिक सवारीसाधन बजारमा आफ्नो पकड थप मजबुत बनाएको छ भने नेपाली व्यवसायहरूलाई आधुनिक, भरपर्दो र वातावरणमैत्री यातायात समाधान प्रदान गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
For more: Bhat-Bhateni Partners Foton Motors

