पहिरोका कारण कृषि विकास बैंकको बेनी शाखा दुई दिन बन्द
१५ असोज, काठमाडौं।
कृषि विकास बैंक लिमिटेडको बेनी शाखा कार्यालय दुई दिनका लागि बन्द रहने भएको छ। शाखा कार्यालय रहेको भवनमा पहिरोका कारण क्षति पुगेपछि बैंकले शाखा बन्द गर्ने निर्णय गरेको हो।
बैंकका अनुसार शाखा कार्यालय रहेको स्थानभन्दा माथिबाट लेदोसहितको ठूलो पहिरो खसेको थियो। पहिरोका कारण बैंक रहेको भवनमा क्षति पुगेपछि २०८३ असोज १५ र १६ गते दुई दिन बेनी शाखाबाट प्रदान हुँदै आएका बैंकिङ सेवा बन्द रहनेछन्।
शाखा बन्द रहे पनि ग्राहकलाई आवश्यक आधारभूत बैंकिङ सेवा उपलब्ध गराउने व्यवस्था बैंकले गरेको छ। बेनी शाखाबाट प्रदान हुँदै आएका आधारभूत बैंकिङ सेवा बागलुङ शाखामार्फत उपलब्ध गराइने बैंकले जनाएको छ।
बैंकले बेनी शाखाका ग्राहकलाई सेवा लिन आवश्यक परे बागलुङ शाखामा सम्पर्क गर्न आग्रह गरेको छ। प्राकृतिक विपत्तिका कारण शाखा बन्द गर्नुपरेको भन्दै बैंकले यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।
For More: Agricultural Development Bank Beni Branch

