गाउँगाउँमा आयुर्वेद स्वास्थ्य सेवा दिँदै आरोग्य केन्द्रहरू, सेवा थप विस्तार गर्नुपर्ने स्थानीयको माग
८ माघ २०८२, रामेछाप ।
रामेछाप जिल्लामा रहेका आरोग्य केन्द्रहरूले गाउँगाउँबाट पनि स्वास्थ्य सेवा दिएका छन् । आयुर्वेद उपचार पद्धति प्रति सर्वसाधारणको आकर्षण बढेसँगै गाउँमा रहेको आरोग्य केन्द्रहरूले दिने सेवा बढ्दै गएको छ ।
जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपक कार्कीका अनुसार रामेछापको मन्थलीमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय छ भने मन्थली नगरपालिकाको चिसापानीमा आयुर्वेद सेवा केन्द्र रहेको छ ।
त्यस्तै खाँडादेवी गाउँपालिकाको गागल, रामेछाप नगरपालिकाको सुकाजोर, गोकुलगंगा गाउँपालिकाको रस्नालु र सुनापति गाउँपालिकाको बेथान डहुमा आरोग्य केन्द्र सञ्चालनमा छन् । आजै दोरम्बा गाउँपालिकाको टोकरपुरमा ओरोग्य केन्द्र सञ्चालमा आएको छ । उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकामा आरोग्य केन्द्र सञ्चालनको तयारीमा छन् ।
खाँडादेवी गाउँपालिकाको गागलमा सञ्चालनमा रहेको आरोग्य केन्द्रमा प्रदान गरिएको सेवालाईथप व्यवस्थित गरी सञ्चालन गर्नुपर्ने माग जिल्ला समन्वय समिति रामेछापका निवर्तमान प्रमुख समेत रहेका प्रेमबहादुर खड्काको छ ।
स्थानीयले जग्गा दिएर सुविधा सम्पन्न भवन बनाउने काम सुरु भए पनि बिचमा अलपत्र परेको भन्दै स्थानीय गणेशबहादुर खड्का गुनासो गर्छन् । सो आरोग्य केन्द्रकी प्रमुख सम्झना तामाङ केन्द्रले मापदण्ड अनुसारको सेवा दिइरहेको भएपनि स्थानीयहरुले थप सेवाको माग रहेको बताउँछिन् ।
आरोग्य केन्द्र बेथा डहुका प्रमुख रोज लामा घरदैलो समेत गरेर स्थानीयलाई सेवा दिँदै आएको बताउँछन् । तथापि सिमित साधन स्रोतका कारण माग अनुसारको काम गर्न नसकेको उनले बताए । स्थानीय तहसँग समन्वय गरेर सेवा विस्तारलाई निरन्तरता दिँदै आएको उनले बताए ।
पछिल्लो समय आयुर्वेदिक उपचार प्रतिको आकर्षण बढेको भए पनि राज्यले सो अनुसारको जनशक्ति र उपकरण व्यवस्था गर्न नसक्दा नागरिकले मागेको सेवा भने पाउन सकेका छैनन् ।
For More:-Ayurveda Health Services



