१२ जेठ, काठमाण्डौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेष्ट कालामार्डले आज शिष्टाचार भेट गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच सङ्क्रमणकालिन न्याय एवं मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको हो।
भेटमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रि जिम्मेवारी पूरा गर्न नेपाल सधैँ प्रयत्नशील रहेको स्पष्ट पारे।
उहाँले संसद्मा विचाराधिन रहेको सङ्क्रमणकालिन न्यायसम्बन्धी मस्यौंदा विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाइने बताए।
सो अवसरमा महासचिव कालामार्डले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा प-याउन प्रधानमन्त्री प्रचण्डले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै सङ्क्रमणकालिन न्यायसम्बन्धी कानुन छिट्टै निर्माण हुने र शान्ति प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गरे ।