एआई परियोजनामा लगानीको अवसर: ‘दृष्टि लगानी’ सत्र आयोजना हुँदै
२५ जेठ, काठमाडौं।
नेपालको प्रविधि इतिहासमै पहिलोपटक विल्कुलै नयाँ मोडालिटीमा आधारित ‘राष्ट्रिय एआई ह्याकाथन २०२६’ ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (NCIT) को परिसरमा भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ ।
प्रविधि क्षेत्रको अग्रणी कम्पनी कोडदृष्टि सफ्टवेयर प्रालिको आयोजनामा ३२ घण्टासम्म निरन्तर चलेको यस सघन प्रतिस्पर्धामा देशभरका २५० भन्दा बढी विकासकर्ता (डेभलपर्स), विद्यार्थी, अनुसन्धानकर्ता र प्रविधि उद्यमीहरूको प्रत्यक्ष सहभागिता रहेको थियो ।
मुख्य ह्याकाथन सफलतापूर्वक सम्पन्न भएसँगै यस कार्यक्रमकै प्रमुख आकर्षणको रूपमा रहेको ‘शार्क ट्याङ्क शैली’ (Shark Tank-style) को विशेष पोस्ट-इभेन्ट सत्र ‘दृष्टि लगानी’ ठीक एक हप्तापछि आयोजना हुन गइरहेको छ ।
यस विशेष सत्रमा प्रतिस्पर्धाबाट उत्कृष्ट ठहरिएका प्रतिभाहरूले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र फिनटेक (FinTech) जस्ता महत्त्वपूर्ण क्षेत्रका विद्यमान समस्या समाधानका लागि विकास गरेका आफ्ना नवीन एआई परियोजना तथा व्यावसायिक योजनाहरू देशका प्रतिष्ठित लगानीकर्ता, सफल प्रविधि उद्यमी र व्यापारिक लिडरहरू सामु सिधै ‘पिच’ (प्रस्तुत) गर्ने विशेष अवसर पाउनेछन् ।
प्रस्तुत गरिएका परियोजनाहरू व्यावसायिक रूपमा सम्भाव्य र उच्च-प्रभावकारी देखिएको खण्डमा सहभागी टोलीहरूले लगानीकर्ताहरूबाट तत्कालै वास्तविक लगानी (Funding) प्राप्त गर्न सक्नेछन् ।
यसका साथै, आफ्ना प्रविधिजन्य अवधारणालाई सफलतापूर्वक बजारसम्म पुर्याउन (Go-to-Market) दिग्गजहरूबाट व्यावसायिक मार्गदर्शन र मेन्टरसिप समेत प्राप्त हुने भएकाले यस सत्रलाई नेपाली नवप्रतिभा र लगानीकर्ताहरूलाई जोड्ने एक ऐतिहासिक एवं महत्त्वपूर्ण कडीको रूपमा हेरिएको छ ।
For More:-AI Project Dristi Investment


