बाढीपीडितको राहत तथा उद्धारका लागि कृषि विकास बैंकद्वारा सहयोगको अपिल
११ भदौ, काठमाडौं।
आज बुधबार बिहान भोटेकोशी नदीमा आएको ठूलो आकस्मिक बाढीका कारण रसुवाको टिमुरे तथा स्याफ्रुबेंसीसहित रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।
बाढीबाट भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कृषि विकास बैंक लिमिटेडले बाढी प्रभावित परिवारको राहत तथा उद्धारका लागि सहयोग गर्न सबैमा हार्दिक अपिल गरेको छ।
बैंकले विपद्को यस कठिन घडीमा प्रभावित परिवारको साथमा उभिन र मानवीय सहयोगमा हातेमालो गर्न आग्रह गरेको हो। राहत तथा उद्धारका लागि सहयोग गर्न बैंकले **‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’**मा रकम जम्मा गर्न सकिने व्यवस्था सार्वजनिक गरेको छ।
सहयोग गर्न इच्छुकले बैंकले सार्वजनिक गरेको खाता नम्बर ०१००२०१००२९०७०१४ मा रकम जम्मा गर्न सक्नेछन्। साथै, बैंकले सार्वजनिक गरेको क्यूआर कोड स्क्यान गरी समेत सहयोग गर्न सकिने जनाएको छ।
कृषि विकास बैंकले विपद्मा परेका परिवारलाई राहत र उद्धारका लागि सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै ‘विपद्को यस कठिन घडीमा एकजुट बनौँ, मानवताका लागि हातेमालो गरौँ’ भन्ने अपिल गरेको छ।
For More: Agriculture Development Bank Flood Relief

