कृषि विकास बैंकका कर्मचारीद्वारा बाढीपीडितलाई १ करोड ५३ लाख सहयोग, तलब–भत्ताबाट जुटायो रकम
३१ भदौ, काठमाडौं।
भोटेकोशी नदीको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले आफ्नो तलब–भत्ताबाट १ करोड ५३ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले उदाहरणीय सहयोग गरेका छन्।
बैंकका उच्च तहका अधिकारीदेखि सहयोगी कर्मचारीहरूसम्मले आफ्नो तलब र भत्ताबापतको रकम संकलन गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेका हुन्।
बैंकका कर्मचारीहरूको तर्फबाट कुल रु. १,५३,९५,०२२ (एक करोड त्रिपन्न लाख पन्चानव्वे हजार बाइस रुपैयाँ) को चेक हस्तान्तरण गरिएको छ।
चेक हस्तान्तरण कार्यक्रम
बैंकका सञ्चालक समिति अध्यक्ष टंक प्रसाद पाण्डे र निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले उक्त रकम बराबरको चेक नेपाल सरकारका अर्थमन्त्री माननीय स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशिल हुमागाईं, मार्केटिङ एण्ड सेल्स विभागका प्रमुख बीना शर्मा र जनशक्ति व्यवस्थापन विभागका प्रमुख अजय रिमालको पनि उपस्थिति रहेको थियो।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR)
यसअघि पनि कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोषबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु. ३ करोड योगदान गरिसकेको छ।
साथै, बाढीपीडितहरूका लागि रु. १० लाख बराबरको खाद्यान्न तथा राहत सामग्री प्रत्यक्ष रूपमा वितरण गरिसकेको बैंकले जनाएको छ। प्राकृतिक विपद्को यस कठिन समयमा संस्थागत र व्यक्तिगत दुवै तर्फबाट निरन्तर सहयोग गर्दै आएको बैंकले बताएको छ।
For more: ADBL Employees Contribute 15.3 Million

