कृषि विकास बैंकको सामाजिक उत्तरदायित्व: देवघाट र रजहरका संस्थालाई विशेष सहयोग
२२ असार, काठमाडौं।
कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत दुईवटा छुट्टाछुट्टै सेवामूलक संस्थालाई विशेष सहयोग प्रदान गरेको छ।
बैंकले गत असार २० गते शनिबार एक संक्षिप्त कार्यक्रमका बीच तनहुँको देवघाटस्थित श्री कृष्ण प्रणामी मन्दिर (कृपा धाम) र नवलपुरको देवचुली-१६ रजहरमा सञ्चालित सामुदायिक प्राकृतिक चिकित्सालयलाई आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराएको हो।
जस अन्तर्गत देवघाटको कृपा धाममा शुद्ध पिउने पानीको व्यवस्थाका लागि डिप बोरिङ्ग जडान कार्य र रजहरको प्राकृतिक चिकित्सालयका लागि अत्यावश्यक फिजियोथेरापी उपकरण हस्तान्तरण गरिएको छ।
उक्त सहयोग सामग्री तथा वित्तीय सहयोग बैंकका सञ्चालक संजिव पौडेलको विशेष रोहबरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) गोविन्द गुरुङले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।
सो अवसरमा बैंकका बागमती प्रदेश कार्यालय चितवनका निर्देशक राम प्रसाद गजुरेल, मार्केटिङ तथा सेल्स विभागका वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, रजहर शाखाका प्रबन्धक विशाल पौडेल, प्रदेश कार्यालय चितवनका वरिष्ठ शाखा प्रमुख सुजन ढकाल र सन्देश ढुङ्गेलका साथै दुवै संस्थाका अध्यक्ष एवं पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बैंकले प्रदान गरेको यो सहयोगले स्थानीय क्षेत्रमा शुद्ध पिउने पानीको पहुँच स्थापित गर्न र बिरामीहरूको फिजियोथेरापी उपचारलाई थप प्रभावकारी बनाउन ठूलो राहत मिल्ने विश्वास लिइएको छ।
For More: ADBL CSR Support Devghat Rajahar



