Managing Brands for the long run,CEO of F1 Soft

Share It On:

आईसिटीको विकास गर्न नेपाली ब्राण्ड बनाउनु जरुरी छः विश्वास ढकाल, अध्यक्ष, एफ वान सफ्ट

काठमाडौं । नेपालको सूचना, संचार तथा प्रविधि (आईसिटी) को क्षेत्रलाई अन्य विकसित मुलुकहरुको तुलनामा निकै नयाँ मानिन्छ । नेपालका आईसिटीको प्रसस्त संभावनाहरु भएर पनि यसले कुनै ठूलो आकार ग्रहण गर्न सकेको छैन् ।

तर पनि केहि कम्पनी तथा विज्ञहरु यो क्षेत्रको विकासका लागि निरन्तर लागि नै रहेका छन् । यिनीहरुले नेपाललाई आईसिटीको विश्व मानचित्रमा चिनाउने प्रयास गर्दै आएका छन् । यस्तै प्रयास र मिहिनेत गर्दै आएको कम्पनी मध्येको एक एफ वान सफ्ट (F1 Soft) तथा त्यसका अध्यक्ष विश्वास ढकाल (Biswash Dhakal) पनि हुन् । युवा नेतृत्वमा अगाडि बढिरहेको कम्पनी, नेपालको आईसिटीको अवस्था र संभावनाको बारेमा अध्यक्ष ढकालसँग गरिएको कुराकानी जस्ताको तस्तैः

Biswash Dhakal

प्रश्नः नेपालमा हाल आईसीटिको अवस्था कस्तो देख्नुहुन्छ ?

नेपालमा आईटीको विकास त्यसै भएको भन्दा पनि माग भएको हो । मानिसलाई हरेक क्षेत्रमा आईटीको प्रयोग र सहजता आवश्यक भएको हुँदा यसको विकास भएको हो । जे विषयमा निड हुन्छ त्यसमा विकास हुन्छ । विभिन्न डोमेनमा विभिन्न क्षेत्रमा सफ्टवेयरको विकास भई रहेको छ । जसले गर्दा यो क्षेत्रमा केहि न केहि विकास भई नै रहेको देखिन्छ । कसैले पनि नधकेलिकन आफैं माग सिर्जना गरेर विकास गरेको क्षेत्र हो यो । तर देशको सोच र विकासलाई परिवर्तन गर्ने हो भने कसैले शुरु गर्नुपर्दछ । कसैले जिम्मेबारी नलिँदा पनि नेपालमा सूचना प्रविधिको राम्रै विकास भएको छ ।

प्रश्नः अहिले सूचना प्रविधिलाई कसले नेतृत्व दिईरहेको छ ?

नेपालको आईटी सेक्टरलाई कुनै संस्था, निकाय वा सरकारले विकास गर्नुपर्दछ र भविश्य छ भनेर विकास गरेको होईन् । यसमा कुनै एक जना व्यक्ति वा संस्थाले नेतृत्व गरेको होईन् । यो स्वविकास भएको हो । अर्थात कम्पनीहरुले आफैंले मागको सिर्जना गर्ने र आफूलाई बाँचको लागि काम गरिरहेका छन् । बजारलाई के चाहिएको छ भन्ने अध्ययन अनुसन्धान गरेर आईटि कम्पनीहरुले काम गरिरहेका छन् । जसले यो विकास भएको हो । अहिलेसम्म कुनै पनि सरकार, सरोकारबाला निकाय वा संस्थाहरुको कुनै भूमिका प्रस्टरुपमा देखिँदैन् ।

के अहिलेको आईटी पार्क उपयुक्त छ ? कस्तो हुनुपर्ला आईटी पार्क ?

आईटी पार्कका लागि त पूर्ण सुविधा युक्त वातावरण र ५०/६० वटा कम्पनीलाई पुग्ने किसिमको पूर्वाधार चाहिन्छ । अहिलेको अवस्थामा एउटा निश्चित स्थानमा २४ घण्टा बत्ति आउने गरी स्थान दिए मात्र पुग्दछ । यदि प्रिमियममा रकम तिर्नुपर्ने हो भने पनि हामी तयार छौं । अझ हामीलाई कुनै ट्याक्स छुट चाहिँदैन् । त्यति मात्र गरेपनि सरकार कहिँ छ है भन्ने अनुभव गर्न सकिन्छ ।

अहिलेको अवस्थामा एउटा निश्चित स्थानमा २४ घण्टा बत्ति आउने गरी स्थान दिए मात्र पुग्दछ । यदि प्रिमियममा रकम तिर्नुपर्ने हो भने पनि हामी तयार छौं ।

मेरो विचारमा अहिलेको अवस्थामा सरकारले ठूलो अनुदान दिएर ट्याक्स सुविधा दिएर, विदेशी कम्पनीहरु नेपालमा बोलाउने हो भन्नु निकै टाढाको कुरा हो । त्यसैले नेपाली कम्पनीलाई बाहिर  जानबाट रोक्ने हो भने सरकारले निकै आक्रामक रुपमा काम गर्नुपर्दछ । हामी पनि गंभिर छौं भन्ने हुनुपर्दछ जुन देखिँदैन् ।

प्रश्नः अब के गर्न सकिन्छ होला ?

अहिले भर्खरै भूकम्प गयो, हजारौं मानिसहरु मरे तर त्यसको कुनै लेखाजोखा नै छैन् । एक जनाले अनुसन्धान गर्दछ लाखौं घर र हजारौं मानिस मरे भनेर भन्दछ अर्को विज्ञ आउँछ अर्को तथ्यांक दिन्छ । त्यतिबेला नै हरेक क्षतिको जानकारी एउटा सामान्य ट्याबको सहयोगबाट राख्न सकेको भए अहिले हरेकले त्यसको उपयोग गर्न सक्दथे ।

भूकम्पको क्षतिपूर्तिको डाटा राख्न पाएको भए अहिले विदेशी डोनर, सरकार र सरोकारबालाहरु सबैलाई पारदर्शिरुपमा हेर्न सकिन्थ्यो भने कुन जिल्लामा कस्तो असर पर्यो भनेर हेर्न सकिन्थ्यो होला । यहि डाटा संकलनका लागि एउटा कम्पनीले काम पाउँथ्यो होला, केहि सय मानिसले रोजगारी पाउँथे भने सरकारले स्तरीय तथ्यांक प्राप्त गर्दथ्यो । यस्तो सानो सानो विषयमा सोच्ने व्यक्ति नै छैनन् वा सोच्ने व्यक्तिले काम गर्नै सकेका छैनन् । सरकारी निकायमा यस्तो विषय हामीले गर्न सक्दछौं भन्ने गंभिरपना नै छैन् ।

प्रश्नः के नेपालमा अन्य मुलुकको जस्तै स्टार्टअपको संभावना छ ?

आज हामीले नेपालमा स्टार्टअप (Startup) कम्पनीलाई ठाउँ दिन सकेनौं भने भोली छिमेकी मुलुक इण्डियामा लाखौं रुपैंयामा बिक्री हुने अवस्था आउन सक्दछ । त्यस्ता आईडिया करोडौं रुपैंयामा बिक्री हुने अवस्था आउँछ । त्यस्ता आईडिया नेपालमा नै राख्ने अवस्था विकास हुने वातावरण बनाउनुपर्यो । त्यस्तो अवस्था सरकारले बनाउनुपर्ने अवस्था आईसकेको छ । जस्तै विश्वका विभिन्न मुलुकहरुमा ह्वाट्सएप, भाइबर जस्ता स्टार्टअप कम्पनीहरु बिक्री हुन्छ भने नेपाली आईडिया र स्टार्टअप किन बिक्री नहुने ? यदि बिक्री भयो भने त सरकारले नै राजस्व कमाउँछ । यस्ता आईडिया करोडौं रुपैंयामा बिक्री हुनसक्दछ । हाम्रो जस्तो सानो जिडिपी भएको मुलुकमा एकै पटक अबौं रुपैंया स्टार्टअपबाट राजस्व आयो भने निकै ठूलो रकम हुनसक्दछ ।

हाम्रो जस्तो सानो जिडिपी भएको मुलुकमा एकै पटक अबौं रुपैंया स्टार्टअपबाट राजस्व आयो भने निकै ठूलो रकम हुनसक्दछ ।

अहिले विश्वका विभिन्न मुलुकहरुमा नयाँ आईडिया खोजी भईरहेको छ । इजरायल, अमेरिका, भारतलगायतका विभिन्न मुलुकमा आईडिया खोजी रहेका छन र त्यस्ता आईडियालाई तुरुन्तै लाखौं डलर लगानी गर्ने अवस्था छ । यदि नेपाली कम्पनीले त्यस्तो थाहा पाएभने उनिहरु पनि त्यस्ता मुलुकतिर लाग्ने छन् । त्यस्ता आईडिया र स्टार्टअपलाई नेपालमा नै राख्ने हो भने नेपालमा नै प्रतिस्पर्धात्मक वातावरण बनाउनु पर्यो वा त्यस्ता आईडियालाई नेपाल मै केहि सहयोग गर्न सक्दछौं भन्ने वातावरण बनायो भने संभव छ, होइन भने कुनै पूरानै आईडियामा मात्र लाग्ने र ध्यान दिँदा त्यो संभव छैन् ।

प्रश्नः विदेशी मुलुकमा स्टार्टअपको चर्चा र फण्ड रेजिंग अधिक हुने गरेको देखिन्छ, नेपालमा फण्ड रेजिंग गर्न सकिएला ?

नेपालमा पनि स्टार्टअपको संभावना छ । नेपाल किन संभावना भने यहाँ धेरै च्यालेन्जहरु छ । जहाँ धेरै च्यालेन्ज हुन्छ त्यहाँ धेरै इनोभेसन र आईडियाहरु आउँछन् । इनोभेसन भईसकेपछि त्यसलाई स्केल गर्ने वातावरण त चाहिन्छ । तर यहाँ के हुन्छ भने इनोभेसन भईसकेपछि एक लेवलमा पुगेपछि विभिन्न कारणले फ्रस्टेशन आउने गर्दछ । त्यस्ता फ्रस्टेसनको लेभल कमगर्ने अवस्था सिर्जना गर्नुपर्यो । जहाँ फाइनान्सियल क्राइसेस छ, जहाँ भिसीको प्रोब्लम छ, जहाँ एन्जेल इन्भेस्टरको प्रोब्लम छ त्यहाँ पूरै इन्फ्रास्ट्रक्चर बनाउनु पर्दछ ।

बाहिर एउटा वर्कस्टेशन भयो भने कम्पनी शुरु गर्न सकिन्छ । तर यहाँ त्यतिले मात्र पुग्दैन् । यहाँ कम्पनी चलाउन कम्प्यूटर चाहियो, त्यसलाई चाहिने विद्युत चाहियो, जेनेरेटर चाहियो, ब्याकअप चाहियो, इन्टरनेट छुट्टै चाहिन्छ । नेपालमा कति च्यालेन्ज छ भन्ने हो । सरकारले  त्यस्ता च्यालेन्ज हटाउन राम्रो वातावरण बनाएर आईटि पार्क जस्तै इन्क्यूभेसन ल्याब बनाईदिनुपर्यो । त्यहाँ आईडिया भएका मानिसहरु आएर काम गर्न सक्ने अवस्था हुनुपर्यो । यस्ता स्थानमा हरेक सुविधा हुन्छन र आउ काम गर र पे गर भनेर भन्ने अवस्था भयो भने नेपालमा आईटिमा प्रचुर विकासको संभावना छ । अहिले पनि काम गरिरहेकै छन् तर यी साना साना कुराहरुमा ध्यान दियो भने उनीहरुलाई तनाब कम गर्ने र आफ्नो आईडियालाई बढाउने सुविधा दिए मात्र पुग्दछ ।

प्रश्नः यहि बिचमा तपाईँहरुको कम्पनी एफ वान सफ्ट के गरिरहेको छ ?

एफ वान सफ्ट (F1 Soft) अहिले नाफामूलक व्यवसाय गरिरहेको छ । अहिले हामी बैंकिंग सेक्टरमा राम्रो पेनेट्रेशन दिईरहेका छौं । हामीले यो सेक्टरमा राम्रो सेवा पनि दिईरहेका छौं र उनिहरुको एप्रिसिएसन पनि पाईरहेका छौं । हाम्रो एफ वान सफ्ट र ग्रुपले विभिन्न पाँचवटा विभिन्न कम्पनीमा काम गरिरहेका छौं । हामी दुईवटा स्टार्टअप कम्पनीमा काम गरिरहेका छौं भने अर्को एउटा ईसेवा (e-sewa) नेपालको पहिलो पेमेन्ट गेटवेलाई कम्तिमा नाफामा लान सफल भएका छौं ।

स्टार्टअप कम्पनीमध्ये सिरान टेक र धर्मटेक एउटा एपमा आधारित कम्पनी हुन् भने अर्को वेब भीआरभि सिएमएस डेभपलमेन्टमा आधारित भएर काम गरिरहेको छ । विशेष कम्पनीहरु विशिष्टक्षेत्रमा स्पेशलाइजेसन हुनुपर्दछ भन्ने हाम्रो मान्यताले गर्दा ‘सेगमेन्ट डोमेन’ बेग्ला बेग्लै बनाउनु परेको हो । अब स्पेशलाइज्ड मानिस र कम्पनी खोज्ने अवस्था आईसकेको छ ।

हामीसँग अहिले करिब २०० जना भन्दा बढि मानिसहरु काम गरिरहेका छन् । यसलाई अझै बढाउने र आईटिमा स्केल अप गर्ने सोचमा छौं । नेपाली आईसिटीको क्षेत्रमा थप लगानी गर्ने र नयाँ प्रोजेक्टहरु पनि ल्याउने तयारीमा छौं । त्यसैगरी सूचना प्रविधिमा नै फोकस भएर सर्भिसका लागि पनि केहि कम्पनीहरु ल्याउँछौं की भन्ने छ, यसको लागि फिजिबिलिटी स्टडी भईरहेको छ ।

प्रश्नः आईटिसीमा विदेशी कम्पनीका लागि काम गर्दा विदेशबाट भुक्तानी लिन अझैपनि समस्या छ भनिन्छ के त्यो साँच्चिकै समस्या हो ?

अहिले विदेशबाट आउने पेमेन्टको समस्या ठूलो होईन् । कुनै न कुनै च्यानलबाट रकम आई नै रहेका छन् । ती सबै च्यानलहरु औपचारिक च्यानल नै हो । अहिले जतिपनि आउटसोर्स गर्ने कम्पनीहरु र मानिसहरुले पेपाल, स्क्रोलमा वेस्टर्न यूनियन प्रयोग गर्दछन भने केहि पायोनियर भन्ने इन्टरनेशनल कार्ड पनि पाइन्छ, जुन नेपालमा रकम निकाल्नको लागि प्रयोग गर्न सकिन्छ । त्यसैले यो कुनै ठूलो इस्यू होइन् । अहिले करिब ३/४ हजार मानिसहरुले औसतमा ५ सय डलर आम्दानी गर्ने गर्दछन् । यो ठूलो रकम कोर र फर्मल च्यानलबाट आईरहेको मान्छु म ।

यो च्यालेन्ज भन्दा पनि हाम्रो ब्राण्ड ठूलो च्यालेन्ज हो । नेपालको ब्राण्ड आईटिमा कहाँ छ भन्ने हो । कुनैपनि अनलाईन कम्पनीका लागि जब वा आउटसोर्स गर्नको लागि म नेपालको डेभपलर हो भनेपछि काम पाउने संभावना निकै कम हुन्छ । नेपाललाई आईटिमा ग्रोईंग कन्ट्री वा बुमिंग मार्केट हो भनेर कसैले भन्दैन् । यसलाई अझैपनि लेट ब्याक र निकै पछाडि परेको देशको रुपमा देखिन्छ । त्यसैले सबैभन्दा पहिले हामीले ब्राण्ड बनाउनुपर्ने छ । हामी आईटि सेक्टर कहाँ छौं ? हामी आईटि सेक्टरमा स्ट्रंग छौं र आईटि प्रोफेसलनहरु वल्र्ड क्लासका छन भनेर स्टाब्लिस्ड नगरेसम्म काम ल्याउने फ्लो कम हुन्छ । त्यति बेलासम्म हामी जस्ता कम्पनीहरुले काम गर्नुपर्ने देख्छु म ।

प्रश्नः त्यसोभए ब्राण्ड बनाउन के गर्नुपर्ला ?

कुनै प्रोडक्ट बनाएर ट्रेड गर्न सक्यौं, कुनै प्रोडक्ट ल्याएर वल्र्ड मार्केटमा मिलियन डलरमा बिक्री गर्न सक्यौं वा कुनै कम्पनी सिलिकन भ्याली कम्पनीले एक्वायर गर्यो वा गूगलले अक्वायर गर्यो भन्ने अवस्था नभएसम्म नेपालको आउटसोर्सिंग बिजनेस राम्रो होला भन्न सक्दिन म । हो हामीजस्ता कम्पनीहरुलाई कुनै कम्पनीले विश्वास गरेर काम देला, त्यतिबेलासम्म ट्रस्ट गर्छ, काम गरिरहन्छु तर नयाँ क्लाइन्ट खोज्न गाह्रो छ । त्यसैले त्यो ब्राण्ड हामी जस्तो कम्पनीले बिल्ड गर्नु आवश्यक देख्छु म । यो हाम्रो लागि पनि च्यालेन्ज हो भने नेपाली आईटि इन्डष्ट्रिलाई ग्रो गर्ने हो भने सबै कम्पनीको लागि ठूलो च्यालेन्ज हो ।

हो हामीजस्ता कम्पनीहरुलाई कुनै कम्पनीले विश्वास गरेर काम देला, त्यतिबेलासम्म ट्रस्ट गर्छ, काम गरिरहन्छु तर नयाँ क्लाइन्ट खोज्न गाह्रो छ ।

प्रश्नः तपाईँहरुले केहि समय अघि दुईवटा नयाँ कन्सेप्ट नेपालमा ल्याउनु भयो, क्यास अन एड र अर्को अनलाईन कन्सेप्ट ओहो बजार । तर ती त्यति चल्न सकेनन् । के त्यो फ्लप भएको हो ?

क्यान अन एड (Cash on Ad) को कन्सेप्टका लागि नेपाल एकदम सानो मार्केट भयो । हामीले लन्च गरेको तीन महिनामा झण्डै २ लाख कस्टमरहरु बेस भएको थियो । २ लाख कस्टमर एउटा प्लेटफर्ममा आउनु त्यो जति ठूलो अचिभमेन्ट केहि पनि होईन् । तर के भईदियो भने २ लाखलाई सर्भ गर्न कठिन भयो । हाम्रो कन्सेप्टमा ती २ लाख कस्टमरलाई एड हेरे बापत पैसा दिनुपर्ने हो । ती कस्टमरलाई दिनको १० रुपैंया वा एक महिनाको ३ सय रुपैंया पनि दिनुभएन भने कुनै कस्टमरलाई रिटेन गरेर बस्न सकिँदैन् । त्यसमा हामीले पनि खानुपर्यो भने एड एजेन्सीलाई पनि केहि दिनुपर्यो । त्यसको लागि हामीले दिनको करिब ४० लाख रुपैंया कमाउनु पर्यो । के नेपालको एड विजनेस ४० लाख रुपैंयाको छ त ?

हाम्रो सबैभन्दा ठूलो मिस्टेक भनेको हामीले नेपालको एड मार्केटलाई एनालाईसिस नै गर्न सकेनौं ।

मार्केट कत्रो छ त ? डिजिटल मार्केटको बिजेनस कति छ ? ट्रेडिसनल एड मार्केटको बिजनेस कति छ र को को कि प्लेयर छन त ? भन्ने नै बुझ्न सकेनौं । हामी एकदमै खतरा र किलर आईडिया लिएर आयौं । यो कन्सेप्ट किन्न मानिसहरु २५ मिलियन डलर दिएको थियो तर हामीले बेचेनौं । त्यो मिस्टेकले अरु हाम्रा स्ट्राटेजीमा सहयोगी भएको छ ।

यो कन्सेप्ट नेपालमा फेल भएपनि इन्टरनेशनल मार्केटमा अझै हामी कोसिस गरिरहेका छौं । फेलियर भएको होईन् । अझै पनि हामी यसलाई विभिन्न मुलुकमा कसरी लाने भनेर हेरिरहेका छौं । हामीसँग यसको ११ मुलुकमा लाइसेन्स छ भने दुईवटा मुलुकमा लाईभ जाँदैछौं । लाइभ जाने प्रोसेस निकै लामो हुँदा केहि समय लाग्दछ । सम्भवत यहि फेब्रुअरीको अन्त्यमा वा मार्चको शुरुवातमा ती दुई मुलुकमा जाँदै छौं भने बिस्तारै अन्य देशहरुमा पनि लाइभ जाँदै छौं । त्यसैले यसको सफलता वा असफलता मापन गर्दछ भन्ने लाग्दछ । मलाई जहाँसम्म यसपछि हाम्रो अहिलेसम्मको सबै लगानी उठ्छ भन्ने अझैपनि आशाबादि छौं । यसमा हामीले धेरै पैसा गुमायौं । जे भएपनि यो कन्सेप्ट २०२० पछि चल्ने प्रोडक्ट हो भन्ने मलाई लाग्दछ ।

प्रश्नः ओहो बजारको बारेमा ?

अर्को ओहो बजार (Ohoo Bazar) मा हामी धेरै इनोभेसनमा फोकस छौं । स्ट्रिक्टली हामीले एउटा प्रोडक्ट ओरिएन्टेड भएर सेल्स एण्ड मार्केटिंगको काम गर्यौं, हाम्रो विकनेस कहाँ छ भने हामी अहिलेपनि इन्टरप्राइजेज बिजनेसमा सफल छौं, तर हामीले ओहो बजारलाई अझै अगाडि लान सकेनौं । त्यो भन्ने हो भने हाम्रो ईसेवाले अहिले पनि राम्रो बिजनेस गरिरहेको छ तर पनि क्यास अन एडमा धेरै पैसा गुमाएको हुँदा हामीले ओहो बजारका लागि फेरी इन्भेस्ट गरेर फेरी स्केल अप गर्ने भनेर हामीले कन्फिडेन्ट गेन गर्न सकेनौं । जुन पाराले चलिरहेको छ त्यो चलिरहेको छ भनेर हामीले छोडेका छौं । त्यो बन्द पनि भएको छैन् ।

हामीले कन्फिडेन्ट पुरै लुज पनि गरेका छैनौं । तर थप लगानी गर्ने की नगर्ने भनेर मात्रै हामी द्धिविधामा छौं । ओहो बजारमा अहिले पनि ८० हजार डाउनलोड छ । तर त्यसलाई रेगुलर सेल्स नगरी र मार्केटिंग नगरी कुनै एप टेक्नोलोजी अगाडि बढदैन् । मानिसलाई रेगुलर यूजेज गराउन सकेका छैनौं, त्यो गराउन जरुरी छ ।

प्रश्नः नेपाली ई-कमर्शलाई यस्तो समस्या छ तर विदेशबाट नामै नसुनेका कम्पनीहरु नेपालको ई-कमर्शमा लगानी गरिरहेका छन् । नेपालमा अपर्चुनिटी नभएको भए कसरी आए ?

नेपालको मार्केट एकदमै भर्जिन छ । अझ ई-कमर्श (e-commerce) बिजनेस एकदमै भर्जिन छ । नेपालमा अबको नेक्स्ट बिग थिंग भनेको ई-कमर्श नै हो । अबको ५ वर्षमा नेपालको ई-कमर्शमा एकदमै ठूलो बुम हुन्छ र नेपालको ई-कमर्शमा म्यासिभ अपर्चुनिटी क्रिएट हुन्छ । त्यसैले यहाँ जो फस्ट मुभर हो त्यो फस्ट मुभरले ठूलो एडभान्टेज लिनेछ । र यदि यी किसिमका ठूला लगानी गर्छु र भोलिको बिजनेस गर्नु भन्ने ई-सेवा जस्ता कम्पनीहरु आयो भने निकै अर्पच्यूनिटी छ । ई-सेवा जस्ता हाम्रो कम्पनी ५ वर्षसम्म लसमा नै थियो हामीले पनि भोलीको विजनेस हेरेर आयौं र अहिले नाफामा छौं त्यो तरिकाले विभिन्न कम्पनीहरु आए भने निकै अर्पच्यूनिटी छ । कुनै कम्पनीले मसँग फण्ड छ र मार्केट क्रिएट गर्छु भनेर कुनै कम्पनीहरु आएभने यहाँ ई-कमर्शमा अर्पच्यूनिटी अवश्य छ, त्यहि हिसावले अफ्रिकन कम्पनीहरु पनि आईरहेका छन् ।

प्रश्नः अन्त्यमा, अब आईसिटिलाई कसरी विकास गर्न सकिन्छ ?

यस विषयमा सबैभन्दा पहिलो गभर्नमेन्ट सिरियस हुनुपर्यो । गभर्नमेन्टले यो सेक्टरलाई प्रायोरिटीमा राख्नुपर्यो । आगामी दिनमा स्टार्टअपलाई रुम दिनुपर्यो, ती स्टार्टअप नै फ्यूचर हो, तिनीहरुले नै हजारौंलाई रोजगार सिर्जना गर्न सक्दछन् भन्ने बुझेर उनीहरुका लागि राम्रो वातावरण दिनुपर्यो ।

अर्को भनेको सरकारले तुरुन्त एउटा निश्चित स्थान छुट्याएर यो आईटि वा सफ्टवेयर डेभपलमेन्ट कम्पनीको लागी यहाँ २४ घण्टा इलेक्ट्रीसिटी सप्लाई छ भन्ने हो भने इन्भाईरोमेन्ट नै छुट्टै हुन्छ । त्यसले कुनै कम्पनीमा आउने गेस्ट, भिजिटरहरु वा आईटि पार्कमा काम गर्दछु भन्दा त्यसले छुट्टै ईमेज क्रिएट गर्दछ । त्यसको आधारमा हामीले इम्प्रेसन बनाउन सक्दछौं । जसले गर्दा मानिसहरुले नेपालको आईटि प्रतिको रवैयालाई बदल्न सकिनछ । यसको लागि करिब २० लाख स्वायरफीट छुट्याएर यो नेपालको आईटि पार्क हो भनेर सबै आईटि कम्पनीलाई त्यहाँ ल्याउने हो भने त्यसले हेल्प गर्न सक्दछ ।

सफ्टवेयर डेभपलमेन्ट कम्पनीको लागी यहाँ २४ घण्टा इलेक्ट्रीसिटी सप्लाई छ भन्ने हो भने इन्भाईरोमेन्ट नै छुट्टै हुन्छ ।

मेरो विचारमा आईटि कम्पनीलाई क्यापासिटि भएको र क्षमता भएको कुनै एजुकेसनल सर्टिफीकेसन चलाउन सक्दछ, कुनै सफ्टवेयर कलेज चलाउन सक्दछ भने हामी लाइसेन्स दिन तयार छौं भनेर भन्नु पर्यो । तिमीहरुले आईटिको सेक्टरमा, ह्यूमन रिसोर्स डेभपलमेन्टको क्षेत्रमा वा आईटि कलेज चलाउन सक्दछौं भनेर सरकारले आव्हान गर्यो भने त्यसले दक्ष ह्यूमन रिसोर्स उत्पादन गर्न सक्दछ । जुन विदेशी बजारमा निकै ठूलो मूल्यमा बेच्न सकिन्छ भने नेपाल भित्र पनि त्यसलाई उपयोग गर्न सकिन्छ । त्यसैले यी केहि मूख्य विषयमा सरकारले ध्यान दियो भने नेपालको आईटि सेक्टर नेक्स्ट लेभलमा पुग्न सक्दछ ।

Source: Mobileskhabar.com


Share It On: