१५ माघ, काठमाडौं ।
“आठौं चेम्बर एक्स्पो २०२५, भृकुटीमण्डप काठमाडौंमा १८–२१ माघसम्म। स्थानीय उत्पादनको प्रवर्द्धन, सफ्टवेयर र एआई प्रोजेक्टसहित १२५+ स्टलहरू प्रदर्शनी।”
अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर र एआई प्रोजेक्टसहित आठौं नेपाल चेम्बर एक्स्पो २१ गतेसम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको हो ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाइ छ ।
सूचना प्रविधिको विकाससंगै चेम्बर एक्स्पोको आर्कषणका रूपमा यो वर्ष सफ्टवेयर र एआई प्रोजेक्ट स्टलका रूपमा रहनु सवैभन्दा महत्वपूर्ण रहेको अध्यक्ष अग्रवालले बताए ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगहरूलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको व्याकअपका रूपमा विकास गरिनुपर्नेमा जोड दिए ।
व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देश भित्र खपत हुने सफ्टवेयरहरुको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए ।
क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताए ।
विगतमा झैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरू, हस्तकला, लत्ताकपडाका सामानहरू, अटोमोबाइल, इलेक्ट्रोनिक्स, होमअप्लियन्स, लोगिस्टिा, टेक्टायल, फर्निचर, गार्मेन्ट्स, लेदर गुड्स, ज्वेलरी आदि सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ ।
चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाईल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरुमा उत्पादित बस्तुहरुको प्रर्दशनी र व्यवसायीहरुले सहभागिता जनाउनेछन् ।
स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरू एक्स्पोमा राखिने आयोजकले जनाएको छ । एक्स्पोमा कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने जनाइएको छ ।
For more: 8th Nepal Chamber Expo 2025