फाइभजीमा प्रवेश गर्नुअघि ‘फोर जी’ सेवा गुणस्तर बनाउन जरुरी छ: सञ्चारमन्त्री 

5G challenges in nepal

१२ फागुन २०७९, काठमाडौं 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ जी लागू गर्न उपयुक्त हुने बताउनुभएको छ । बिहीबार प्रविधि पत्रकार मञ्च (टिजेएफ)ले काठमाडौंमा आयोजना गरेको ‘फाइभ जी को चुनौती र आगामी बाटो’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले देशमा फाइभ जी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै ठाउँमा सामान्य सूचनाको पहुँचसमेत पुग्न नसकेको बताउनुभयो । मन्त्री शर्माले फोर जी सेवा विस्तार भएको लामो समय हुँदा पनि काठमाडौं उपत्कायमा समेत फोरजी सेवा गुणस्तरीय  हुन नसकेको भन्दै यसैलाई  व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री शर्माले फोरजी सेवा लागू गर्दाको लागत अनुसार प्रतिफल प्राप्त भएको वा नभएको विषयमा पनि अध्ययन हुनुपर्ने धारणा राखिन् । विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट के भयो भन्ने विषयमा समीक्षा गर्न सकेनौं भने लाभ भन्दा पनि नोक्शानी हुने जस्तो लाग्छ’ उनले भनिन् ।

मन्त्री शर्माले फोर जी सेवा लागू गर्दा लागेको लागत अनुसारको प्रतिफल भए / नभएको विषयमा अध्ययन गर्नुपर्ने उल्लेख गर्नुभयाे । विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट हुने फाइदाको समीक्षा गर्न सकेनौं भने लाभभन्दा नोक्सानी बढ्नसक्ने तर्फ सचेत गराउदैं आफ्नो वास्तविकता अनुसार अघि अघि बढ्नुपर्ने बताउनुभयो । उपभोक्ता र नेपालीको व्यक्तिगत विवरण सुरक्षा ग्यारेन्टीमा समेत ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

हामी फोर जीमा भौगोलिक रूपमा कठिन अवस्थामा छौँ । गाउँपालिकाको कार्यालयमा फोन लाग्दैन, फोर जीको विषय टाढाको कुरा हो । मन्त्री शर्माले नेपाल मुलुकको उच्च हिमाली क्षेत्र अझै सूचनाको पहुँचमा नपुगेको, निकुञ्ज तथा जङ्गल क्षेत्र पनि इन्टरनेट र फोनको पहुँच बाहिर रहँदा जङ्गल यात्रामा जनावरको आक्रमणको सूचना दिन पनि कठिन रहेको बताउनुभयो ।

मन्त्री शर्माले सम्बन्धित निकायहरुलाई सबैभन्दा पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पुर्‍याउन निर्देशन दिनुभयो । उहाँले उपत्यकाको धेरै स्थानमा समेत सामान्य सेवा नपुगेको र हाईवेका धेरै ठाउँमा फोन नलाग्ने, टावर नै नआउने अवस्था रहेको बताउनुभयो ।

त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले फाइभ जी सेवा अपेक्षाकृत रुपमा नभएपनि परीक्षण सुरु भएको बताउनुभयो । उहाँले सरकारले सोचेको जस्तो, नियामकले सोचेको जस्तो र आमउपभोक्ताले सोचेको जस्तो परीक्षण नभएको गुनासो गर्नुभयो ।

उहाँले नियमनकारी निकायले फाइभ जी विषयमा सुक्ष्म रुपमा व्यवस्थापन नगर्ने सोच भए पनि अब सुक्ष्म रुपमा व्यवस्थापन गर्ने सोचमा पुगेको जानकारी दिनुभयो । प्राधिकरणले नेपालमा फाइभ जी ल्याउँदा हुने फाइदाहरुको विषयमा अध्ययन गरिरहेको जानकारी दिनुभयो । अध्यक्ष खनालले राज्यले लगानी गरे अनुसार कस्तो प्रतिफल आउने विषयमा अन्तिम रिपोर्ट आउन बाँकी रहेको पनि बताउनुभयो ।

फाइभजी परीक्षण ताेकिएकाे समयभन्दा ६ महिना ढिला हुँदा पनि नियामकले ‘जेठो छोरा’ लाई  मात्र पाेसिरहेकाे एनसेल आजियटाका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले बताउनुभयो । हालसम्म फाइभजी परिक्षणको लागि अनुमति पाएको छैन। यदी अनुमति पाए लगत्तै परिक्षण थाल्ने एनसेलले बताएको छ।

उपाध्यायले एनसेलसँग दक्षिण एशियाको पाँच मुलुकमा फाइभजी परिक्षण गरेको अनुभव रहेको बताउँदै नेपालमा कम्पनीले व्यवस्थित ढंगमा छिटो काम सक्ने बताउनुभयो। उहाँले ‘फाइभजी परिक्षणका क्रममा देखिने प्राविधिक समस्याहरू हामीलाई पनि पर्न सक्छ। तर हामीसँग अर्को पाँच ओटा देशको अनुभव भएकाले समयमै समस्याको समाधान गरेर तोकिएको अवधीमा परिक्षण गर्न सक्ने बताउनुभयो।

फाइभजी परीक्षण गर्न एनसेलले अनुमति मागेको छ महिनासम्म पनि नियामक निकायले अनुमति नदिनुलाई अभिभावकबाट सौतेनी व्यवहार भएको संकेत उपाध्यायले गरे ।

नेपालमा फाइभजी सुरू भए यसले शिक्षा, स्वास्थ, मनोरञ्जन देखि हरेक क्षेत्रमा सहयोग पुर्‍याउने र उन्नत प्रविधिको विकासमा सहयोग पुग्ने बताउनुभयो।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हाल नेपाल टेलिकमलाई मात्र फाइभजी परीक्षणकाे अनुमति दिएको छ । यसअन्तर्गत टेलिकमले आन्तरिक परीक्षणकाे काम गरिरहे पनि सुस्त छ । गत जुलाईमा नै फाइभजी परिक्षण सक्ने भनिएता पनि हालसम्म राम्ररी परिक्षण भएको छैन।

यस्तो अवस्थामा अझै पनि एनसेललाई बेवास्ता गरेको समेत आरोप लगाउनुभयो।

टेलिकमका उपनिर्देशक सुजित आनन्द मल्लले नेपालमा फाइभजी सपोर्ट गर्ने डिभाइस मोबाइल सेट र जनशक्ति सहित नभएको र टेलिकमले पूर्ण तयारी गरेर मात्रै आम उपभोक्तालाई सेवा दिने भएकोले ढिलो भएको बताउनुभयो ।

उपनिर्देशक मल्लले अहिले बजारमा फाइभजी सपोर्ट गर्ने साओमीको मात्रै सेट रहेको छ । थप मोबाइल सेटमा फाइभजी चलाउन आवश्यक तयारी पनि भइरहेको छ । आइफोन र अन्य सेटमा फाइभजी सपोर्ट गर्ने गरी आन्तरिक तयारी भएको पनि बताउनुभयो ।

नियामक निकायले सबै उपभोक्तालाई परीक्षण गर्नु भनेको भए पनि टेलिकमले भने आन्तरिक रूपमा मात्रै फाइभजी परिक्षण गरेको हो । टेलिकमले सीमित कर्मचारीलाई सीमित डिभाइसमा प्रयोग गर्ने गरी सुन्धारा र बबरमहलबाट मात्रै फाइभजी परीक्षण गरेको पाइएको छ ।

यस्तो परीक्षण टेलिकमले आन्तरिक रूपमा गरेको भए पनि कुनै औपचारिक जानकारी भने सार्वजनिक पनि गरेको छैन ।फोरजीभन्दा उच्च पावर लाग्ने सिस्टम बनाउनुपर्ने र सेवा दिने भेण्डर पनि छनोट गर्नुपर्ने भएकोले ढिलो भएको मल्लले स्वीकार गर्नुभयो ।

उहाँले आम जनताबाट गाली नखाने गरी तयारी गरेर मात्रै सबैलाई फाइभजी टेस्ट गर्न दिने पनि बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here