अन्तर बिद्यालय स्तरीय आइसीटी हाजिरी जवाफ (ICT Quiz) प्रतियोगिता हुने

नेशनल साइबर ओलम्पियाडको तेश्रो संस्करण भाद्रमा हुने कम्प्युटर बिषयका शिक्षक तथा आइटीमा आबद्ध केहि व्यक्तित्वहरुको अगुवाइमा आठ वर्ष अगाडि स्थापना भएको ब्रसअप अनलाइनले तेश्रो अन्तर बिद्यालय स्तरीय आइसीटी हाजिरी जवाफ (ICT Quiz) प्रतियोगिता यहि भाद्रमा गर्ने भएको छ |

बिगत दुई वर्षदेखि निरन्तररुपमा आइसीटी हाजिरी जवाफ प्रतियोगिता गर्दै आएको ब्रसअप अनलाइनले यस वर्ष भाद्रको दोश्रो साताबाट प्रतियोगिताको आयोजना गर्ने भएको छ | नेशनल साईबर ओलम्पियाड नाम दिएको उक्त प्रतियोगिता भाद्र १४ बाट शुरु हुने भएको छ |

गत वर्ष ४६ बिद्यालयका ४९ टिमको सहभागिता भएको प्रतियोगिताको उपाधि ललितपुरको नाइँटेन्गल्स स्कुलले आफ्नो पोल्टामा पर्न सफल भएको थियो |

बिगतका कार्यक्रमहरुको सफलता एवं संस्थाका पदाधिकारी तथा सदस्यहरुको उत्साहले गर्दा यसपालिको प्रतियोगितालाई काठमाडौंमा मात्र केन्द्रित नगरी पोखरा र चितवनमा पनि आयोजना गर्ने तयारी भइरहेको संस्थाका अध्यक्ष सुशील उप्रेतीले बताउनु भयो | बिगतका सहभागिता संख्यालाई बढाउदै यस वर्ष कम्तिमा ७५ वटा टिम सहभागिता गराउने बृहत तयारी भइरहेको उहाँले बताउनु भयो |

२१ सदस्यीय आयोजक समिति रहेको उक्त संस्थाले बिद्यालय स्तर देखिनै बिद्यार्थीहरुलाई आइसीटी क्षेत्रको नवीनतम जानकारी प्रदान गर्ने तथा उनीहरुलाई उत्साहित गर्न बिभिन्न सेमिनार, गोष्ठी लगायत शीपमूलक तालिमहरु गर्दै आएको र आगामी दिनहरुमा आइसीटी क्षेत्रमा अझै यस्ता बिभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिदै अगाडी बढ्ने अध्यक्ष सुशील उप्रेतीले जानकारी दिनुभयो |