९ सय मेगाहर्जमा थ्रीजीको पनि अनुमति

जेठ १८ बाट फोरजी चलाउन एनसेललाई अनुमति

९ सय मेगाहर्जमा थ्रीजीको पनि अनुमति

२२ वैशाख, काठमाडौं । अब एनसेलले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा फोरजी सेवा प्रारम्भ गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलललाई फोरजी सञ्चालनको अनुमति दिएको छ ।

आगामी जुन १ अर्थात जेठ १८ गतेदेखि फोरजी चलाउन सक्ने गरी एनसेललाई फोरजी अनुमति दिइएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।
प्राधिकरण सञ्चालक समितिको बैठकले एनसेलले फोरजीका लागि पेश गरेको रोलआउट प्लानलाई स्वीकृत गर्दै फोरजी सञ्चालनको बाटो खुला गरिदिएको छ ।
उसले फोरजीका लागि आन्तरिक तयारीसमेत गरिरहेको छ । एनसेलसँग १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा ११ मेगाहर्ज फि्रक्वेन्सी छ । यसैलाई उपयोग गरेर अब एनसेलले फोरजी चलाउन सक्ने प्रवक्ता अर्यालले बताए । फोरजीका लागि थप फि्रक्वेन्सी भने नदिइएको अर्यालले बताए ।अब एनसेलले तत्कालै फोरजीको परीक्षण गर्न गर्न सक्नेछ । एनसेलले प्राधिकरणसमक्ष अनुमति पाएको एक महिनाभित्र फोरजी चलाउने गरी योजना प्रस्तुत गरेको थियो ।

फोरजीका लागि निवेदन दिएको स्मार्ट टेलिकमले भने अनुमति पाएको छैन । नेपाल टेलिकमले यसअघि नै फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छ ।
हालै संशोधन गरिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीतिले पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा नयाँ सेवा सुरु गर्न पाइने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार एनसेलले प्रविधिगत तटस्थता (टेक्नोलोजी न्युट्रल) गरी पहिले नै पाएको १ हजार ८ सय मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीमा फोरजी चलाउन अनुमति पाएको हो । नेपाल टेलिकमले पनि टेक्नोलोजी न्युट्रालिटीमा फोरजी लाइसेन्स पाएको थियो ।

प्राधिकरणले एनसेललाई ९ सय मेगाहर्ज ब्याण्डमा थ्रीजी विस्तारको अनुमति पनि पाएको छ । अब एनसेलले प्राधिकरणले ल्याएको नयाँ ब्रोड ब्याण्ड नीतिअनुरुप गाउँ-गाउँसम्म उच्चगतिको इन्टरनेटका लागि ९ सय मेगाहर्ज ब्याण्डमा थ्रीजी सेवा विस्तार गर्न सक्ने प्रवक्ता अर्यालले बताए ।

एनसेलले यसमार्फत ६० प्रतिशत जनताका ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने गरी प्रस्ताव पेश गरेको थियो ।  अबको १२ महिनाभित्रै ६० प्रतिशत नागरिकलाई उच्च गतिको इन्टरनेट दिने गरी एनसेलले गरेको प्रस्तावलाई ध्यानमा राख्दै ९ सय मेगाहर्ज ब्याण्डलाई पनि टेक्नोलोजी न्युट्रालिटीको स्वीकृति दिइएको हो । एनसेलसँग ९ सय मेगाहर्जमा ८ मेगाहर्जको फ्रीक्वेन्सी छ ।

के हो फोरजी ?

फोरजी भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रबिधिमा सवैभन्दा पछिल्लो प्रबिधि हो ।

पछिल्लो प्रबिधि भएको हुनाले स्वभाविकरुपमा फोरजी थ्रीजीभन्दा तिब्र गतिको हुन्छ । आइटियूको मापदण्ड अनुसार १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ ।

बिभिन्न देशमा टेलिकम कम्हपनीरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन् । नेपाल टेलिकमले भने ३०एमबीपीएसमा फोरजी चलाइरहेको छ ।

फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपि टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here