फेसबुकका सुरुवातका यी १० कर्मचारी अहिले कहाँ छन् ?

फेसबुक जब भर्खर सुरु भएको थियो त्यसमा पछाडि को को थिए ? अनि फेसबुक स्थापनाकालका ती मान्छेहरुमध्ये अहिले को को कहाँ कहाँ छन् ? कतिपयले फेसबुक प्रारम्भिक अवस्थामै रहँदा कम्पनी छाडेर नयाँ कम्पनीमा जागिर सुरु गरे वा आफ्नै कम्पनी खोलेका थिए । फेसबुक छाडेका कतिपय ठूला धनाढ्य पनि बनिसकेका छन् ।फेसबुकको सुरुवातकालका २० जना कर्मचारीमध्ये केवल २ जनामात्र अहिले फेसबुकसँग आबद्ध छन् ।

अर्को रोचक कुरा के भने फेसबुकका सुरुवाती २० कर्मचारीमध्ये केवल २ जनामात्र महिला थिए । ती २० मध्ये १० कर्मचारी यसप्रकार छन् ः

१. मार्क जुकरबर्गः उनी फेसबुकका संस्थापक हुन् । उनमा रातो तथा हरियो रंग नदेख्ने आँखाको समस्या छ । फेसबुकको डिजाइन निलो रङको हुनुमा यो एउटा कारण हो । सन् २००४ मा फेसबुक स्थापना गरेयता उनी निरन्तर कम्पनीमा छन् । उनी फेसबुकका सिइओ हुन् ।

२. डस्टिन मोस्कोभिचः फेसबुकका पहिलो प्रमुख प्राविधिक अधिकृत रहेका डस्टिन त्यसबेलाका जुकरबर्गका रुममेट पनि हुन् । फेसबुक सुरु गर्नका लागि जुकरबर्गसँगै उनी हार्वार्डको पढाई छाडेर क्यालिफोर्निया आएका थिए ।

फेसबुकका सहसस्थापक रहेका डस्टिनले सन् २००९ मा फेसबुक छाडे । उनी सफ्टवेयर कम्पनी असानाका संस्थापक तथा सिइओ पनि हुन् । साथै उनी परोपकारी संस्था गूड भेन्चर्सका संस्थापकसमेत हुन् । फोब्र्सका अनुसार उनको सम्पत्ति १२ अर्ब डलर रहेको छ ।

३. क्रिस ह्यूग्सः क्रिस पनि फेसबुकका सह-संस्थापक तथा पहिलो प्रवक्ता हुन् । उनले सन् २००८ मा बाराक ओबामाको चुनावी अभियानमा सोसल मिडिया व्यवस्थापनको जिम्मा लिएका थिए ।
तत्पश्चात उनी जुमो नाम प्रविधि कम्पनीका कार्यकारी निर्देशक बने । सन् २०१२ मा उनी द न्यू रिपब्लिक पत्रिकाको शेयर खरीद गरी त्यसको प्रधान सम्पादक बने । तर पत्रिका घाटामा गयो । अहिले उनी इकोनोमिक सेक्योरिटी प्रोजेक्टका सहअध्यक्ष छन् ।

४. इडुरानो सावेरिनः फेसबुकका सहसस्थापक रहेका इडुरानो कम्पनीका पहिलो प्रमुख वित्तिय अधिकृत पनि हुन् । फेसबुकको सह-सस्थापकको रुपमा आफ्नो नाम दर्ज गराउनका लागि उनले जुकरबर्गलाई मुद्दा नै हाल्नुपर्यो र पछि कानूनी लडाइँ जिते पनि ।

उनलाई जुकरबर्गले फेसबुक सुरु हुनु केही समयपछि नै बर्खास्त गरेका थिए । ब्राजिलमा जन्मेका साभेरिनले सन् २०११ मा उनले अमेरिकी नागरिकता त्यागेर सिंगापुरतिर लागे । फोब्र्सका अनुसार उनको ८ अर्ब ७० करोड डलर बराबरको सम्पत्ति छ ।

५. सिन पार्करः उनी फेसबुकका संस्थापक अध्यक्ष हुन् । उनले सन् २००६ सम्म फेसबुकमा काम गरे । फेसबुक छाडेसँगै उनले स्पोटीफाइ तथा असाना जस्ता कम्पनीहरुमा लगानी गरे । उनी अहिले हलमा भर्खरै लागेका फिल्महरु भाडामा लिएर घर घरमा पुर्‍याउने नौलो व्यवसायमा लागेका छन् । तर उनको उक्त व्यवसायलाई हलिउडले विरोध गर्दा विवादास्पद बनेको छ । सिन पार्करको सम्पत्ति २ अर्ब ६० करोड डलर रहेको छ ।

६. एन्ड्रयू म्याकुलमः फेसबुकको संस्थापक मध्येका एक म्याकुलमले फेसबुकको पहिलो लोगो डिजाइन गरेका थिए । साथै उनले जुकरबर्गसँगै अर्को प्रोजेक्ट वायरहगमा पनि काम गरेका थिए । उनले सन् २००६ सम्म फेसबुकमा काम गरे । उनले भेन्चर क्यापिटल कम्पनी एनइएका सदसय हुनुका साथै क्विल्ट र जब स्पाइस कम्पनीमा पनि लगानी गरेका छन् ।

७. टेनर ह्यालिसिओग्लूः फेसबुकका संस्थापक बाहिरका फेसबुकले भर्ना गरेको पहिलो खास कर्मचारी हुन् टेनर । उनले सम्पूर्ण रुपमा फेसबुकको सुरुवाती हार्डवेयर संरचना निर्माण गरेका थिए । उनले सन् २००९ सम्म फेसबुकमा वरिष्ठ सफ्टवेयर इन्जिनियरको रुपमा काम गरे । उनी हाल सान डिएगो स्कुलको कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विभागमा अध्यापन गर्दछन् । हालै उनले स्कुलमा डाटा साइन्स इन्स्िटच्यूट स्थापना गर्न साढे ७ करोड डलर दान गरे ।

८. नाओमी ग्लेइटः फेसबुकमा सन् २००५ देखि हालसम्म काम गरिरहेकी ग्लेइट सबैभन्दा लामो समयसम्म काम गर्ने कर्मचारीमध्येकी एक हुन् । उनको सुरुवाती काम चाहीँ विश्वका सबै मानिस फेसबुकमा छन् भन्ने कुराको ग्यारेन्टी गर्नु थियो । उनको सुरुवाती पद चाहीँ मार्केटिङ एसोसिएट थियो । उनी फेसबुकको सोसल गुड डिपार्टमेन्टकी उपाध्यक्ष हुन् । साथै फेसबुकको सेफ्टी चेक, फन्डराइजिङ टूल्स जस्ता फिचरको नेतृत्व पनि उनले गर्दछिन् ।

९. केभिन कोलेरानः उनी पनि फेसबुकका संस्थापक मध्येका एक हुन् । सन् २०११ मा फेसबुक छाड्नुअघि उनी फेसबुकका उपाध्यक्ष थिए । उनले हाल भेन्चर क्यापिटल कम्पनी स्लो भेन्चर्समा प्रबन्ध निर्देशकको रुपमा रहेका छन् । उक्त कम्पनी डेभ मोरिन लगायत फेसबुका अन्य पूर्व कर्मचारीहरु मिलेर खोलका हुन् ।

१०. गिल्स मिस्चलरः फेसबुकको जगैदेखि सुरुवाती सूचना प्रविधि संरचना निर्माण गर्ने काम उनले गरेका थिए । सन् २००५ को जूनदेखि २०१० सम्म उनले फेसबुकमा काम गरे । हाल उनी ड्रपबक्समा नेटवर्क इन्जिनियरको रुपमा कार्यरत छन् ।

एजेन्सीको सहयोगमा

२०७४ असार ११ गते १२:४७ मा प्रकाशित

Source:Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here