नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरण बीच सम्झौता

मध्य पहाडी लोकमार्गमा पूर्वको पाँचथर जिल्लाको चियो भञ्ज्याङदेखि पश्चिममा गोर्खा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर बिच्छ्याउने सम्बन्धमा नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरण बीच आज २०७३ असार १५ गते समझदारी पत्र (MOU) मा हस्ताक्षर भयो ।

सो समझदारी पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले हस्ताक्षर गर्नुभयो ।
उक्त समझदारी अनुसार मध्य पहाडी लोकमार्गको सो क्षेत्रमा नेपाल टेलिकमले अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न गर्नेछ भने सो कार्यका लागि आवश्यक रकम नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत उपलब्ध गराउने छ ।

समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याई प्रदेश नम्बर १ देखि ३ सम्म पर्ने पूर्व पश्चिम राजमार्ग र उत्तर दक्षिण जोड्ने राजमार्गमा अप्टिकल फाइबरको सञ्जाल बिस्तार गरिने जानकारी दिनुभयो । हाल मध्य पहाडी लोकमार्ग निर्माण भइसकेका स्थानमा अप्टिकल फाइबरमार्फत र निर्माण सम्पन्न नभइ सकेका स्थानमा माइक्रोवेभ मार्फत लिंक स्थापना गर्ने कार्यक्रम रहेको छ ।

उक्त अवसरमा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल टेलिकमलाई दिएकोमा नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिनुभयो । साथै उहाँले एक महिना भित्रमा विस्तृत कार्ययोजना तयार गरी सम्झौता गरिने र तोकिएको अवधिमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।