दैनिक ९ करोड रुपैयाँका मोबाइल नेपालमा
चालु आर्थिक वर्षको पहिलो दुई महिनाभित्रै ५ अर्ब मूल्य बराबरका मोबाइल भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा ५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ बराबरका टेलिफोन सेट भित्रिएका छन्। यो अवधिमा १३ लाख १९ हजार ६ सय ६० थान वायरलेस नेटवर्क सेट भित्रिएका छन्। तथ्यांकअनुसार नेपालमा दैनिक ९ करोड १२ लाख ९४ हजार ९ सय ५० रुपैयाँ मूल्यका २१ हजार थान मोबाइल आउँछन्। त्यस्तै यहीबीच ३२ करोड मूल्य बराबरका मोबाइलका लागि आवश्यक अन्य सरसामान र पाटपूर्जा आयात भएको छ। अघिल्लो वर्षको यही दुई महिनामा ४ अर्ब २४ करोड रुपैयाँका मोबाइल सेट आयात भएको थियो। सूचना प्रविधिको पहुँच र टेलिफोन सेवाको विस्तार भएसँगै मोबाइल सेटको आयात पनि वर्सेनि बढ्दै गएको छ।
अघिल्लो वर्ष २२ अर्ब ६७ करोड १७ रुपैयाँको मोबाइल सेट आयात भएको थियो।
नेपाल दुरसंचार प्राधिकरणका अनुसार नेपालमा हालसम्म तीन करोड ४१ लख ७२ हजार ५८ वटा मोबाइल सिम वितरण भएको छ। सिडिएमए र जिएसएम गरी उक्त संख्यामा मोबाइल सेवाका ग्राहकहरु रहेको प्राधिकरणको भनाइ छ।
SETOPATI.COM

                                                                    