अब युरोप-अमेरिकाकोजस्तै ट्राफिक लाईट नेपालमा

अब युरोप-अमेरिकाको जस्तै उच्च प्रविधिको ट्राफिक लाईट उपत्यकाका सडकमा जडान हुने भएको छ। उपत्यकाको चोकचोकमा सवारी साधनको चाप बढेसँगै उच्च लाईट प्रविधि प्रयोग गर्न थालेको हो। ट्राफिक लाईट जडान भएपछि पैदल यात्रुले आफैँ बटन थिचेर रातो बत्ती बाल्न सक्ने छन्। रातो बत्ती बालेपछि गाडी रोकिन्छ र यात्रुले बाटो क्रस गर्न सक्ने छन्। तर सुविधा छ भन्दैमा अनावश्यक रुपमा वटन थिच्नेलाई भने कारवाही हुने छ। अवस्थालाई सहज गराउँदै शहरी क्षेत्रमा सुन्दरता ल्याउन पनि यो परियोजना सुरु गरिएको काठमाडौं दिगो शहरी यातायात आयोजनाले जनाएको छ। हाल उपत्यकाका चोकचोकमा रहेका पुराना ट्राफिक लाईट पनि प्रयोगमा आउन सकेका छैनन्। जसका कारण पैदल यात्रा गर्नेदेखि सवारी आगमन सहज बनाउन चोकचोकमा खटिरहेका ट्राफिक प्रहरीलाई समेत असहज भएको छ। दातृनिकायको सहयोगमा आयोजनाले उपत्यकाको मुख्य मुख्य २७ चोकसहित ३७ ठाउँमा नयाँ उच्च प्रविधिको ट्राफिक लाईट जोड्ने तयारी गरेको हो।

हाल विभिन्न सडक तथा चोकमा रहेका संकेत मात्र प्रयोग हुने ट्राफिक लाईट भने क्रमिक रुपमा विस्थापन गदै लैजाने आयोजनाको तयारी छ। निजी सवारी साधन प्रयोगलाई निरुसाहित गर्दै पैदल यात्रा अथवा सार्वजनिक सवारीको प्रयोगमा हौसला बढाउन समेत विभिद कार्यक्रम ल्याउन लागेको आयोजनाका कार्यक्रम संयोजक दिपक श्रेष्ठले बताए।नयाँ ट्राफिक बत्ती जडानका लागि आयोजनाले दुई पटक टेन्डर आह्वान गरेपनि टेन्डरमा आवेदन गर्नेहरु अयोग्य ठहरिएका थिए। अहिले पुनः टेन्डर आह्वान गर्ने तयारी भएको उनले बताए। नारायण गोपालचोक देखि त्रिपुरेश्वर, राजदरबार दक्षिण गेटदेखि भद्रकाली र माईतिघरदेखि तिनकुने,जयनेपाल देखि एकान्तकुना क्षेत्रका सडकमा नयाँ प्रविधिको ट्राफिक लाईट जोडिने छ। यसको लागि सडक विभागको परियोजना कार्यान्यवन ईकाई, यातायात व्यवस्था विभागको परियोजना कार्यान्यवन ईकाई, महानगरीय ट्राफिक प्रहरी प्रभात परियोजना कार्यान्यवन ईकाई, महानगरपालिका र वातावरण विभागको परियोजना कार्यान्यवन ईकाईको समेत सहयोग आवश्यक हुने श्रेष्ठले बताए। श्रेष्ठको भनाई अनुसार ‘यो नयाँ प्रविधिको लाईट पुरानो ट्राफिक लाईट भन्दा विल्कुलै फरक हुन्छ र यस्ता लाईट हाम्रा छिमेकी राष्ट्र भारत तथा चीनमा पनि केही मात्रामा प्रयोगमा छन्।’ यसका लागि प्राविधिक रुपमा दक्ष भएको कम्पनी नै आवश्यक पर्ने उनले बताए। यसरी जोड्ने लाईट ३७ वटा नै एक अर्कोसँग कनेक्सन हुन्छ। कुनै एक सवारी साधन एक ठाउँमा रेड लाईटमा परेपछि अन्य ठाउँमा रेड लाईटमा नपर्ने उनले बताए।

उनका अनुसार बटन थिच्नासाथ केही समय भने यात्रुले कुर्नु पर्ने हुन्छ। बटन थिचेपछि पहेँलो बत्ती बल्ने र कुनै एक आवाज दिने छ। त्यो आवाज आउनसाथ यात्रुले बाटो काट्न तयारी हुने र हरियो बत्ती बल्नसाथ बाटो काट्न सुरु गर्न पर्ने छ। जब पुनः पहेँलो बत्ती बल्दै आवाज परिवर्तन हुन्छ त्यसपछि यात्रु सतर्क रहनुपर्ने हुन्छ। ट्राफिक कन्ट्रोल रुम बग्गीखानाबाटै ३७ वटा प्वाइन्टको व्यवस्थापन हुने छ। ‘पैदल यात्रुका लागि बाटो क्रस गर्न दिउँसोको समयमा ट्राफिक कन्ट्रोल रुमबाट नै व्यवस्थापन मिलाउन सकिन्छ’ उनले भने ‘पैदल यात्रु आफैले पनि पोलमा रहने बटन थिचेर बाटो क्रस गर्न सक्छन्।’ साथै रात्रिको समयका लागि भने ट्राफिक कन्ट्रोल रुमबाट नभई यात्रुहरुले नै लाइट नियन्त्रण गर्नुपर्ने छ। साथै आयोजनाले ट्राफिक निगरानीको लागि २ वटा नयाँ प्रविधियुक्त सवारी र जथाभावी पार्किङ गर्ने सवारी साधन व्यवस्थापन गर्न क्रेन सहितको दुई वटा गाडी समेत ल्याउने तयारी भएको उनले बताए। त्यस्तै उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि सहज गराउन भन्दै टेकु, डल्लु र शोभाभगवतीमा अहिलेको भन्दा केही नयाँ डिजाइनको पुल समेत बनाउने काम सुरु भएको उनले बताए। यो पुलमा भने सवारी साधनले सिधै दायाँ मोड गर्न पाउँदैन्। दायाँ मोड लिँदा अन्य सवारी साधनलाई असहज हुने र समयको समेत नोक्सानी हुने हुँदा सवारी प्रयोग गर्नेले बायाँ मोड लिँदै पुलको तलबाट घुमेर पुनः दायाँ मोड लिन पर्ने श्रेष्ठले बताए।

आयोजनाले ट्राफिक व्यवस्थापनको लागि गर्ने २७ चोक सहित ३७ प्वाइन्टको लाइट, तीनवटा पुल र सवारी साधनको लागि ६० करोड भन्दा बढी खर्च लाग्ने अनुमान छ। यो परियोजना २०७३/७४ को आर्थिक वर्ष भित्र सम्पन गर्ने लक्ष्य रहेको श्रेष्ठले बताए।

नयाँ प्रविधिको आवाज सहितको ट्राफिक लाईट कुन कुन ठाउमा बन्दै छ, थाहापाउनुहोस !
कानदेवता कुपन्डोल
सहिद शुक्र पार्क हिमालयन होटल अगाडि
पुल्चोक
जावलाखेल
सोह्रखुट्टे चोक
लैनचौर चोक
केशर महल
वीर अस्पताल चोक
सुन्धार चोक
चाइना टाउन गेट
त्रिपुरेश्वर चोक
नारायणहिटी दक्षिण गेट
दरबार मार्ग महेन्द्र शालिक
त्रिचन्द्र कलेज अगाडि
रत्नपार्क
पुरानो बस पार्क
भद्रकाली
जयनेपाल चोक
कमल पोखरी चोक
काठमाडौं प्लाजा चोक
कमलादी चोक
बागबजार चोक
शंकरदेब कलेज अगाडि
पदमोदय स्कुल चोक
दक्षिण अनामनगर चोक
सिंहदरबार चोक
माईतिघर चोक
थापाथली चोक
सडक विभाग बवरमहल
नयाँ बानेश्वर चोक
सिभिल अस्पताल मिनभवन
तिनकुने चोक
लैनचौर दक्षिण
शितल निवास
कान्ती अस्पताल
निर्मल निवास
गोल्खुपाखा