विद्यार्थीले बनाए रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज !
काठमाडौँ- मनोहर माध्यमिक विद्यालय गोँगबुमा अध्ययनरत विद्यार्थीले रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज उडाएर प्रदर्शन गरेका छन्।
सोही विद्यालयका कक्षा १० का सञ्जीव विश्वकर्मा, सविन तामाङ र आदित्य घिमिरेले बनाएको नमूना हवाइजहाज बिहीबार टोखास्थित भूतखेल चौरमा उडाइयो। राष्ट्रिय विज्ञान प्रदर्शनीमा रु ४० हजारबाट प्रथम पुरस्कार जित्न सफल सो हवाइजहाजको बिहीबार प्रदर्शन गरिएको हो।
कार्यक्रममा विद्यालयका प्राचार्य वासुदेव अधिकारीले नमूना हवाइजहाज बनाएर राम्रो काम गरेकामा विद्यार्थीलाई धन्यवाद दिए।
Advertisement
नमूना हवाइजहाजको निर्माता विश्वकर्माले सामाजिक सञ्जालमा हेरेर हवाइजहाज बनाइएको जानकारी दिए।
सो अवसरमा टोखा नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत झण्डै एक हजार विद्यार्थीको सहभागिता थियो।

