टेलिकमको मोबाइल एप्प मार्फत म्युजिक स्ट्रिमिङ सेवाको सुरुवात

Share It On:

काठमाडौं । नेपाल टेलिकम र म्युजिक नेपाल प्रालिको सहकार्यमा मोबाइल एप्प मार्फत म्युजिक स्ट्रिमिङ सेवाको सुरु गरिएको छ । टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले मोबाइल एपमार्फत स्ट्रिमिङ सेवाको शुभारम्भ गर्दै राष्ट्रको सञ्चारको रुपमा रहेको नेपाल टेलिकम र संगीत उत्पादक कम्पनी म्युजिक नेपाल मिलेर नेपाली संगीतलाई केन्द्रित गरी मोबाइल एप उपलब्ध गराउन सफल भएकोमा खुशी ब्यक्त गरे।

उनले मोबाइल प्रयोगकर्ताका बीचमा यो एप्प लोकप्रिय हुने विश्वास ब्यक्त गर्दै आगामी दिनमा यसलाई थप सुविधासहित परिमार्जित गरिने बताए ।

म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले नेपाल टेलिकमका करिब १ करोड ५० लाख उपभोक्तामार्फत देशभर नेपाली संगीत उपलब्ध गराउन पाएकोमा खुशी ब्यक्त गरे । उनले यो सहकार्यबाट संगीत क्षेत्रको आधिकारिक एप्पको रुपमा म्युजिक नेपाल एप्पले विश्वास जित्ने आशा व्यक्त गरे ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले म्युजिक नेपाल एप्पमार्फत संगीत प्रेमी र कलाकारलाई नेपाली संगीत प्रवर्द्धनका लागि थप प्रोत्साहित गर्न भूमिका खेल्नुका साथै नेपाल टेलिकमको व्यवसाय विस्तारमा समेत सघाउ पुग्ने बिचार ब्यक्त गरिन् ।

म्युजिक स्ट्रिमिङ सेवाबाट ग्राहकले एउटै प्लेटफर्ममार्फत संगीतको आनन्द लिन सक्नेछन् । ̒म्युजिक नेपाल’ मोबाइल एप डाउनलोड गरी सो मार्फत कुनै पनि विधामा अहिलेका लोकप्रिय गीतहरु मात्र नभई पुराना सदावहार नेपाली गीतहरु पनि चौविसै घण्टा सुन्न सकिने छ । उक्त गीतहरु समाजिक संजालमार्फत सेयर पनि गर्न सकिने टेलिकमले जानकारी दिएको छ।

यो सेवा नेपाल टेलिकमका ग्राहकलाई मात्र उपलब्ध हुनेछ भने हाललाई पहिलो एक महिनाको लागि उपभोक्ता शुल्क नलिई उपलब्ध गराइने छ । एक महिना पछि भने ग्राहकले शुल्क तिरेर साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । डाउनलोड गरेको एप्प खोलेर आफ्नो मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी यसको प्रयोग गर्न सकिने छ ।

मोबाइल डाटा प्रयोग गरी गीत डाउनलोड गर्दा डाटा शुल्क भने लाग्नेछ । साथै वाइफाई प्रयोग गरेर पनि कम्पनीका ग्राहकले संगीतको आनन्द लिन सक्नेछन् ।

हाललाई एन्ड्रोइड मोबाइलमा उपलब्ध हुनेछ यो सेवा मार्फत नेपाली आधुनिक तथा सदावहार गीत संगीतहरु मात्र उपलब्ध भए पनि निकट भविष्यमा विदेशी गीत संगीतहरु समेत उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *