मंसिर ३, २०७६ काठमाडौं
नेपाल टेलिकमले नेपाल भरका विभिन्न शहरहरुमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । जस अन्तर्गत पहिलो चरणको सो अभियान आगामी मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सम्पन्न गरिदै छ । सो अभियान गत कार्तिक २० गते विर्तामोडबाट प्रारम्भ भएको थियो ।
हालसम्म यस अभियान अन्तर्गत अपार जन सहभागिताका साथ माग बमोजिम फोरजी सिम वितरण गरिनुका साथै टुजी/थ्रीजी बाट फोरजीमा स्तरोन्नति समेत गरिएको छ । कम्पनीले पूर्वको विर्तामोड देखि पश्चिमको महेन्द्रनगर सम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको हो ।
यस कार्यक्रम अन्तर्गत गत कार्तिक २० गते विर्तामोड, २२ गते वीरगन्ज, २४ गते भरतपुर, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरमा सिम वितरण साथै फोरजी सेवाको प्रचार प्रसार तथा व्यापार प्रबद्र्धन कार्य उत्साह जनक रुपमा सम्पन्न भएको छ । पहिले टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राहकहरुलाई फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनस सहित फोरजी सिम निशुल्क उपलब्ध गराईएको छ ।
फोरजी सेवा सुचारु गर्न ग्राहकले आफ्नो मोबाइलबाट *444# डायल गर्नु पर्नेछ । यसरी पहिलो पटक फोरजी सेवा सुचारु गर्दा ग्राहकले २ सय एमबी डाटा वोनस स्वरुप पाउनु हुनेछ । साथै फोरजी सेवा सुचारु गर्न सिम परिवर्तन गर्नुपर्ने भएमा सोही बमोजिम ग्राहकलाई अलर्ट म्यासेज आउँछ । कम्पनीले हाल फोरजी सिम निःशुल्क उपलब्ध गराइरहेको छ
यो विशेष अभियान अन्तर्गत ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमति पत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।
गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका प्रमुख शहरहरुमा प्रतिष्ठित कलाकारहरुको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ्ग २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचार प्रसार तथा व्यापार प्रबद्र्धन गरिएको छ । साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहेका छन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओड लगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिइरहेका छन् ।
यस प्रकारका अभियान तथा कार्यक्रमहरु देशका अन्य भागमा पनि निरन्तर गर्दै जाने कम्पनीको लक्ष्य रहेको छ । कम्पनीले नवीनतम् प्रविधि सहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाहको शुभारम्भ गरे पश्चात् ग्राहकहरु माझ फोरजी सेवाको लोकप्रियता बढ्दै गइरहेको छ ।