नेटवर्क अपरेटर ग्रुपले विश्वस्तरीय प्रबिधि सम्मेलन गर्ने

npNoG4 event website

इन्टरनेट सेवा प्रदायक एवं सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पीनोग) ले यही मंसिर २३ देखि २८ गतेसम्म एनपिएनओजी–४ नामक छ दिने कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक साथै प्रविधिको अनुसन्धान एवं शिक्षणमा संलग्न व्यक्तिहरुका बीच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदान प्रदान हुनेछ ।

कार्यक्रमबाट यस क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ता प्रविधिमा देखापर्ने समस्या एवं चुनौतीहरुको बारेमा समेत जानकारी हासिल गर्नेछन् ।  काठमाडौंमा आयोजना हुने सो कार्यक्रमअन्तर्गत पहिलो दिन प्राविधिक सम्मेलनको आयोजना गरिने छ भने बाँकी प्राविधिक विषयवस्तुहरु समावेश गरिएको कार्यशाला गोष्ठी हुनेछ  ।

पाँच दिने कार्यशाला गोष्ठीमा चार विषयमा कार्यशाला गरिने छन् । कार्यशलाका विषयहरु Network Management and Security, IPv6 Deployment workshop, FTTH, WiFi Management / Security, System Administrator रहेका छन् ।

कार्यशाला गोष्ठिमा एन्पीनोगका सदस्य, विशेषज्ञहरुका साथै केही अन्तर्राष्ट्रिय विशेषज्ञहरुले सहभागीलाई ज्ञान एवं सीप प्रदान गर्नेछन् । यो कार्यक्रम स्नातक तहका अन्तिम वर्षमा अध्ययनरत विधार्थी एवं सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरतहरुका लागि विशेष लाभदायक हुनेछ । गाेष्ठीमा सहभागी हुन चाहने विद्यार्थीहरुका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसैगरी कार्यक्रममा सहभागी हुन चाहनेमध्ये  महिला सहभागीहरुलाई २५ प्रतिशत छुट प्रश्नावली एवं दर्ताको आधारमा प्रदान गरिएको छ ।

कार्यक्रमको पहिलो दिन आयोजना हुने सम्मेलनमा नेपाल तथा विश्वको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु एवं सफलताका कथाहरुको बारेमा नेपाल तथा अन्य मुलुकका सूचना तथा सञ्चार प्रविधि क्षेत्र, दूरसञ्चार क्षेत्र, इन्टरनेट सेवाप्रदायक कम्पनी, बैंक एवं सरकारी प्रतिनिधिहरुले विशेष प्रस्तुति दिनेछन् ।

एन्पीनोगका अध्यक्ष समित जनाका अनुसार यो कार्यक्रमले सूचना तथा सञ्चार प्रविधिको विश्वस्तरीय ज्ञान आदानप्रदान गर्दै नेपालमा यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ । कार्यक्रमको सह-आयोजकको रुपमा इन्टरनेट एक्सचेञ्ज नेपाल रहेको छ भने कार्यक्रमलाई नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवाप्रदायक संघ र  इन्टरनेट सोसाइटी नेपाल च्याप्टरलगायतले साथ दिएका छन् ।

अन्य जानकारीको लागि : https://npnog.org/npnog4/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here