मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल
२९ जेठ, काठमाडौं ।
नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरेको छ । जेठ ६ गते पोखराका ५६ वर्षका ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण सफल भएपछि पहिलो पटक प्रत्यारोपण सफल भएको अस्पतालले जनाएको छ ।
कार्कीलाई उनका २६ वर्षिय छोरा आयुष कार्कीले कलेजो दिएका हुन् । भारतको प्रसिद्ध परोपकारी अस्पताल अमृता अस्पतालसंग सहकार्य गरि नेपाल मेडिसिटीका चिकित्सकहरुको नेतृत्वमा सफलतापूर्वक प्रत्यारोपण गरिएको बिहीबार पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।
‘यो हाम्रो लामो प्रयास हो, निकै मिहिनेतपछि हामी सफल भएका छौं, अब कलेजो प्रत्यारोपणका लागि नेपालीहरूले विदेश गइरहनु पर्दैन,’ डा. उमिद कुमार श्रेष्ठले भने । ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा. श्रेष्ठ ६ वर्ष अगाडिदेखिको मिहिनेतले सफलता पाएको बताउँदै नेपाली स्वास्थ्य क्षेत्रकै लागि कोशेढुंगा सावित भएको बताए ।
श्रेष्ठका अनुसार कार्कीको कलेजो तथा मिर्गौला दुबै बिग्रिसकेको थियो । निकै जटिल स्वास्थ्य अवस्थामा रहेका उनको सफल कलेजो प्रत्यारोपण गरिएको छ । ‘उनको पेटमा पानी जम्ने, बेला बेलामा होस हराएको जस्तो हुने, रगत वान्ता हुने तथा बेहोस हुने जस्ता समस्या थियो,’उनले भने,‘ कलेजोसँगै मिर्गौलाले पनि काम गर्न छड्दा समस्या आएको थियो, नको जटिल अवस्थाका कारण कलेजो तथा मिर्गौला प्रत्यारोपण दुबै गर्नुपर्ने भएकोले जोखिम उठाउन चाहेनन्, तर नेपाल मेडिसिटीमा भने उनको सफल कलेजो प्रत्यारोपण भएको छ ।’