बिहिबार चितवनमा तेस्रो संस्करणको ‘डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ अक्सफोर्ड कलेज’को प्रविधि र प्रकृतिको संयुक्त प्रयोगको साथ उद्घाटन गरीएको छ ।उद्घाटनको क्रममा ड्रोन उडाएर पुष्प ब्रिष्टी गरीएको थियो । मेलाको उद्घाटन समारोहमा सम्वोधन गर्दै चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेलले राज्य प्रणालीलाई प्रविधिमैत्री बनाउन आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिनुपर्ने बताउनुभयो ।
“राज्य प्रणालीलाई आधुनिकीकरण गर्न जरुरी छ, परम्परागत कार्य प्रणालीलाई आधुनिक बनाई सेवा प्रणालीलाई सुलभ र छरितो बनाउन प्रविधिको अपरिहार्य भइसकेको छ”, सांसद पोखरेलले बताउनुभयो । सांसद पोखरेलले चितवनको प्रविधिको विकासमा मेला महत्वपूर्ण हुने बताउनुभयो । उहाँले मेलाको अवलोकन गरेर नयाँ प्रविधिबारे जानकारी लिन सवैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ)का अध्यक्ष हेमन्त चौरासियाले सूचना प्रविधि क्षेत्रको विकासमा राज्यको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।मेलामा व्यवसायीले व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनुका साथै एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने छन् ।
मेलामा चितवनका १० कलेजका विद्यार्थीहरुले स्मार्ट सिटी सम्वन्धी नयाँ–नयाँ प्रविधिहरु प्रस्तुत गर्ने छन् । जसवाट घर,सडक,सिकाई प्रणाली र बजारलाई सूचना प्रविधिको माध्यामवाट स्मार्ट सिटी कसरी बनाउन सकिन्छ,भन्ने कुरा प्रत्यक्ष देख्न र सिक्न सकिने मेला मूल व्यवस्थापन समिति संयोजक एवंम संघका शाखा अध्यक्ष भानु शर्माले जानकारी दिनुभयो । यसपटकको क्यान इन्फोटेक मेला ल्यापटप र पेनड्राइभ किन्ने मेला मात्रै नभई प्रविधि हेर्ने र नयाँ कुरा सिक्नेखालको हुने शर्माले बताउनुभयो । प्रविधिमा रुचि राख्ने सवैले मेलाको अवलोकन गर्नुपर्ने शर्माको भनाई छ । मेलाले सूचना प्रविधिको समुन्नत विकासमा सहयोग पुर्याउने उहाँले वताउनुभयो ।
यसैबीच ‘‘डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ अक्सफोर्ड कलेज’को पहिलो दिन अवलोकनकर्ताको उल्लेख्य सहभागिता रह्यो । प्रदर्शनीमा सहभागी कम्पनीहरुले आफ्ना सेवा र वस्तु आकर्षक अफर र स्किमका साथ प्रस्तुत गरीएको थियो। प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोबाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेशन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स्लगायतको स्टलमा अवलोकनकर्ताको आकर्षण रहेको छ ।