३१ भदौ, काठमाडौं ।
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले आफ्नो ३० औं वर्षमा प्रवेश गरेको छ। अमेरिकाबाट ल्याएको एक कम्प्युटर र ईमेल सर्भरबाट सुरु भएको यो कम्पनीले २९ वर्षको यात्रा पूरा गर्दै नेपालको इन्टरनेट क्षेत्रमा एक महत्वपूर्ण स्थान बनाएको छ।
वर्तमानमा, वर्ल्डलिङ्कले ७४ जिल्लामा आफ्नो इन्टरनेट सेवा विस्तार गरेको छ र ७७ वटा जिल्लामा पूर्ण सेवा विस्तार गर्ने लक्ष्य राखेको छ। वर्ल्डलिङ्कले १४ हजार स्थानमा निःशुल्क सार्वजनिक वाई-फाई सेवा प्रदान गर्दै आएको छ। यसका साथै, कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि सञ्चालन गर्दै समाजमा योगदान पुर्याइरहेको छ।
कम्पनीले नेपालमै पहिलो पटक विश्वप्रसिद्ध कम्पनी अकमाईसँगको सहकार्यमा कन्टेन्ट क्यास सेटअप गरी इन्टरनेट सेवाको गुणस्तरमा उल्लेखनीय सुधार गरेको छ। हालसम्म लाखौँ नेपाली घरधुरीमा इन्टरनेट जडान गरिसकेको र हजारौँ स्थानमा निःशुल्क सार्वजनिक वाई-फाई सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै वर्ल्डलिंकले विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र हजारौँ नेपालीलाई रोजगारी प्रदान गरेको छ। सरकारबाट उत्कृष्ट करदाताको रूपमा सम्मानित हुँदै आएको वर्ल्डलिंकले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण योगदान पुर्याएको छ।