विश्व कविता दिवस विशेष: सामाजिक सञ्जालले कवितामा ल्याएको नयाँ बिम्ब र चुनौतीहरू
७ चैत, काठमाडौँ ।
विश्वभरका कवि र कविता प्रेमीहरूका लागि आजको दिन निकै विशेष मानिन्छ । किनकी आज २१ मार्च २०२६, अर्थात् विश्व कविता दिवस ।
संयुक्त राष्ट्र सङ्घीय अङ्ग युनेस्कोले सन् १९९९ मा घोषणा गरेयता हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ । यस वर्ष यो दिवस शनिबार परेकाले नेपाललगायत विश्वभर विभिन्न साहित्यिक उत्सव र गोष्ठीहरूको रौनक अझ बढी देखिएको छ ।
नेपाली साहित्य जगतमा चिरपरिचत डा.रमेश शुभेच्छु लुइँटेल कविता केवल लयात्मक शब्दहरूको संयोजन नभई भावनाको बहाव भएको बताउँछन् ।
कवितालाई केवल लय र शब्दको खेल मात्र नभई भाषिक कला र विचारको संयोजन मान्ने लुइँटेलको दृष्टिमा कविता भाषिक कला र विचारको गहिरो संयोजन हो, जसले समाजको चेतना, राजनीतिक परिवर्तन र मानव मनस्थितिलाई समेत प्रतिबिम्बित गर्छ ।
उनका अनुसार आजको कविता हिजोभन्दा फरक परिवेशमा उभिएको छ । सामाजिक सञ्जालका प्रभावले आजको कवितालाई नयाँ बिम्ब र नयाँ सन्दर्भ दिएको छ । डा.लुइँटेल आजको देवकोटा आजै जन्मनुपर्छ भन्ने मान्यता राख्छन् । उनका अनुसार हरेक युगको आफ्नै बिम्ब हुन्छ ।
उनी भन्छन्, ‘देवकोटा आजै जन्मनुपर्छ भन्ने मान्यता राखिन्छ । हिजो लेखनाथ वा देवकोटाका पालामा मेसेन्जर, भिडियो कल, इन्टरनेट वा ग्लोबलाइजेसनको कुरा कवितामा थिएन। तर आजको पाठक आफ्नै वरपरको बिम्ब खोज्छ ।’
उनका अनुसार आजको मदन र मुनाहरू केवल भोट (तिब्बत) जाँदैनन्, तिनीहरू त अरबको तातो घाममा पसिना बगाइरहेका छन् ।
‘अरबको तातो घामको बिम्ब देवकोटाको साहित्यमा पाइँदैन, त्यो त आजकै कविले कोर्नुपर्छ,’ उनी थप्छन्, ‘नेपाली कवितामा शास्त्रीय छन्ददेखि आधुनिक गद्य (मुक्तलय) सम्मको जुन धार छ, त्यसमा आजको परिवेश छिर्नु नै कविताको जीवन्तता हो।’
नेपाली कविता अहिले शास्त्रीय परम्परा र आधुनिक प्रयोगशीलताबीच अघि बढिरहेको छ । शास्त्रीय छन्द, मुक्तलय कविता, गीति कविता र गजल यी सबै विधाहरू समानान्तर रूपमा विस्तार भइरहेका छन् ।
उनका अनुसार अहिले कविता लेखिने क्रम बढेको छ । साढे तीन दर्जन जति उपविधाहरू (गजल, मुक्तक, हाइकु, ताङ्का, चोका आदि) मा अभ्यास भइरहेको छ । तर, डा.लुइँटेल यसमा एउटा चुनौती देख्छन्। मोबाइलमै टाइप गर्न सकिने र सामाजिक सञ्जालमा तुरुन्तै सेयर गर्न पाइने सुविधाले लेखकहरूमा गम्भीर साधना र परिष्कारको कमी हुँदै गएको उनको भनाइ छ ।
‘हतारमा लेख्ने, छिटो प्रकाशित गर्ने प्रवृत्ति बढेको छ । तर परिष्कार र साधना घटिरहेको छ,’ उनी थप भन्छन्, ‘हिजो लेखनाथ पौडेलदेखि माधव घिमिरेसम्म कवितालाई निकै परिष्कृत गरेर मात्र कृति निकाल्ने परम्परा थियो । अहिले कतिपयले १०–१५ दिनमै महाकाव्य लेखेको दाबी गर्छन्।’
उनी सष्ट्रामा व्याकरण, छन्द र विश्व–परिवेशको गहिरो ज्ञान आवश्यक रहेको बताउँछन् ।
डा.लुइँटेल गायक शिशिर योगीको उदाहरण दिन्छन्, जसले एउटा एल्बम निकाल्न १४ वर्ष साधना गरेका थिए । आजको पुस्तामा धैर्यता नभएको उनको भनाइ छ । त्यसका बाबजुद, उनी नयाँ पुस्ताको सक्रियता र सिर्जनात्मक उत्साहलाई सकारात्मक रूपमा लिएका छन् ।
सामाजिक सञ्जालमार्फत कविता वाचन, भिडियो प्रस्तुति र प्रतियोगिताहरूले कवितालाई अझ धेरै मानिससम्म पु¥याएको उनको बुझाइ छ ।
लुइँटेलको काव्य यात्रा रोमाञ्चक छ । ५ कक्षामा पहिलो पटक कविता गोष्ठीमा सहभागी हुँदा उनी पुरस्कृत भएनन् तर, ८ कक्षामा पुगेपछि गुरु तीर्थ तिमल्सिना (पाली साइँलो) ले सुनाएको ‘तरुण तपस्वी’ को एउटा लयले उनको जीवनको लय नै बदलिदिएको उनी सुनाउँछन् ।
उनको पहिलो गजल संग्रह ‘मेरो आँसु नदेऊ मलाई’ २०५७ सालमा सार्वजनिक भयो । तर, उनलाई कवि बनाउने श्रेय भने २०५८ मा प्रकाशित शोककाव्य ‘हजुरबा’लाई जान्छ ।
पछि २०७० को दशकमा आएर उनको ‘आमा’ शीर्षकको कविताले उनलाई आम मानिस र विद्यार्थीमाझ लोकप्रिय बनायो । ‘मलाई त्यतिखेर बोध भयो, शाश्वत कुरामा लेखिएको चिज नै बढी बिक्ने र टिकने रहेछ,’ उनी भन्छन् ।
मार्च २१, अर्थात् विश्व कविता दिवस । सन् १९९९ देखि युनेस्कोले मनाउन थालेको यो दिवसलाई लुइँटेल एउटा उत्सवका रूपमा लिन्छन् ।
उनले भने, ‘बालकृष्ण समले ‘एउटा देखेको’ भन्ने निबन्धभित्र भनेका छन्,– हाम्रा पूर्वीय ऋषिहरूले, ज्ञानलाई कविता बनाएर संरक्षण गरे, कवितामा लुकाएको ज्ञान व्याख्या गर्ने मान्छे चाहिन्छ त्यो उनको कविताभित्रको दृष्टिकोण छ । तर कविता ज्ञानलाई भाषिक कलामा लुकाउने कला नै हो । ’
कविताको ज्ञानलाई व्याख्या गर्ने क्षमता भएपछि ज्ञान बाहिर आउँने उनी बताउँछन् ।
उनको बुझाइमा कविता केवल मनोरञ्जन होइन, यो त स्थानीय भाषादेखि राष्ट्रिय पहिचानसम्मलाई जोगाउने कडी हो । आज युट्युब र टिकटक जस्ता माध्यमले कवितालाई गायक वा फिल्मकर्मीको जस्तै एउटा सम्मानित ‘पहिचान’ दिलाएकोमा उनी सकारात्मक छन् ।
डा. लुइँटेलको पत्रकारहरूप्रति पनि एउटा गुनासो गर्दै भन्छन् ‘तपाईंहरू गुणस्तरभन्दा प्रभावको पछि दौडनुहुन्छ ।’ उनको सल्लाह सिर्जनामा ‘प्रभाव’ भन्दा ‘साधना’ बलियो हुनुपर्छ ।
लुइँटेल आजकल नयाँ प्रयोगमा व्यस्त छन् । गजलमा लेखिएको काव्यलाई ‘गजलगाथा’ र नयाँ शैलीका रचनालाई ‘कवितावली’ भन्दै उनी नेपाली साहित्यको श्रीवृद्धिमा लागिपरेका छन् ।
उनी कविता लेख्नु रहर मात्र नभई समाज र विचारलाई नयाँ फड्को मार्न सघाउने एउटा जिम्मेवार कलाको रुपमा लिन्छन् ।
For more: World Poetry Day Nepal


