विश्व मधुमेह दिवस : ग्राण्डीमा प्रभातफेरी र मधुमेहको निःशुल्क परिक्षण
२८ कात्तिक २०८२, काठमाडौं ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले विश्व मधुमेह दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि नोबेम्बर १४ मा नेपालसहित विश्वभर विश्व मधुमेह दिवस मनाउन थालिएको हो । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउन यो दिवस मनाउन थालिएको हो ।
विश्व मधुमेह दिवसका अवसरमा आज विहान ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जनचेतनामुलक पर्चा, पम्लेटसहित प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ग्राण्डी अस्पतालबाट सुरु भएको उक्त प्रभातफेरी भाटभटेनी, ग्रीनल्याण्ड चोक, धापासी हाइट, कृष्णमन्दिर हुँदै पुनः ग्राण्डी अस्पताल सम्म आएको थियो ।
मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणाली अनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसंघले प्रोत्साहन गर्दै आएको छ । यस्तै, ग्राण्डीले विश्व मधुमेह दिवसका अवसरमा मधुमेहको निशुल्क परिक्षण समेत गरेको छ । अस्पतालको परिसरमा आयोजित निःशुल्क परीक्षणमा १०० जनाले सुगर प्रेसर डाईटीसियन कन्सल्टेसन सुबिधा लिएका थिए ।
ग्राण्डी अस्पतालका मधुमेह रोग विशेषज्ञ डा सन्देश पन्थीले मधुमेह मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीका कारण लाग्ने गरेको बताए । स्वस्थ आहार तथा नियमित व्यायाम गर्ने, धूमपान र मद्यपानबाट टाढा रहनु यो रोगबाट बच्ने मुख्य उपाय भएको उनले बताए ।
बढ्दो मधुमेहलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना र जीवनशैलीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने बताइएको छ ।



