नेपाली नागरिकको डेटा सुरक्षित छैन, विदेशी कम्पनीसँग छ; साइबर सुरक्षा मापदण्ड कमजोर
१७ मंसिर, काठमाडौं ।
विश्व तीव्र गतिमा कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित युगतिर प्रवेश गरिरहेको बेला, न्युयोर्कमा आधारित प्रविधि व्यवसायी तथा वल्र्ड एआई एलायन्सका अध्यक्ष उज्वल रायले नेपालमा एआईको बृहत् सम्भावना र यसका लागि आवश्यक तयारीबारे गहन विश्लेषण प्रस्तुत गरेका छन्।
उनका अनुसार एआईले विश्व अर्थतन्त्र पुनः परिभाषित गरिरहेको छ र उचित तयारी गर्न सकेमा नेपाल जस्तो सानो देशले पनि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ।
डेटा सुरक्षामा गम्भीर चेतावनी
रायले नेपालमा डिजिटल डेटा सुरक्षाको अवस्थालाई अत्यन्त कमजोर भन्दै गम्भीर चेतावनी दिएका छन्।
“नेपाली नागरिकको डेटा सुरक्षित छैन। हाम्रो डेटा हामीसँग छैन, विदेशी कम्पनीसँग छ। सरकारी वेबसाइटहरू सजिलै ह्याक हुनसक्छन्, साइबर सुरक्षा मापदण्ड कमजोर छन्। राष्ट्रिय स्तरको डेटा संरक्षणका कानून कडा हुनुपर्छ।”
उनले अमेरिकी नागरिकको डेटा जत्तिकै नेपाली नागरिकको डेटा पनि महत्त्वपूर्ण हुने भएकाले नेपालले आफ्नो छुट्टै साइबर सुरक्षा मापदण्ड बनाउनुपर्नेमा जोड दिए।
एआई विकासका लागि आवश्यक पूर्वाधार
रायका अनुसार एआईमा विश्व बजार कब्जा गर्न नेपालसँग सबैभन्दा ठूलो चुनौती फिजिकल कम्प्युटिङ इन्फ्रास्ट्रक्चरको अभाव हो।
एआई डेभलपमेन्टका लागि जीपीयु क्लस्टर (GPU Cluster) र हाइ–परफर्मेन्स कम्प्युटिङ ल्याब नेपालमा उपलब्ध छैनन्।
सफ्टवेयर पहुँच भने पर्याप्त छ (जस्तै: गुगल एआईस्टुडियो, माइक्रोसफ्ट कोपाइलट)।
नेपाली भाषामा आधारित लार्ज ल्याङग्वेज मोडल (Nepali LLM) बनाउने ठूलो सम्भावना छ, जसले हरेक क्षेत्रमा लागत घटाउन सक्छ।
जनशक्ति र शिक्षा प्रणालीमा सुधार
एआईले सिर्जना गरिरहेका नयाँ रोजगारी (जस्तै: प्रोम्प्ट इन्जिनियर, एआई डिजिटल मार्केटर) का लागि नेपालमा योग्य जनशक्तिको अभाव रहेको रायको अनुभव छ।
एआई सीप निर्माणका लागि शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक छ।
विद्यालय स्तरदेखि नै एआई पाठ्यक्रम लागु गर्नुपर्छ।
प्लस टु र विश्वविद्यालयमा व्यावहारिक एआई विषय र प्रशिक्षक उत्पादन/आयात गर्नु आवश्यक छ।
नेपालका युवाले एआईलाई केवल ‘च्याटजीपीटी चलाउने’ बुझाइबाट माथि उठेर यसको कृषि, स्वास्थ्य र सुशासनमा हुने प्रयोग बुझ्नुपर्छ।
स्टार्टअप इकोसिस्टम र उद्यमशीलता
नेपालमा भेन्चर क्यापिटल, एन्जल इन्भेस्टमेन्ट, र इन्क्युबेटर लगायतको स्टार्टअप इकोसिस्टम कमजोर भएको रायले औंल्याएका छन्।
उनले सरकारलाई विदेशी लगानी भित्र्याउन, सिड फन्डिङ वातावरण बनाउन र इनक्युबेसन हबहरू निर्माण गर्न भूमिका खेल्न आग्रह गरे।
साथै, युवाहरूलाई सरकारी रोजगारी वा विदेश पलायनको सट्टा देशका सामाजिक–आर्थिक समस्या समाधान गर्ने उद्यमशीलता अपनाउन प्रोत्साहित गरे।
For more: World AI Alliance President Ujjwal Roy



