सूचना प्रविधि क्षेत्रमा सुनैना पाण्डे ‘वुमन इन टेक’ अवार्डबाट सम्मानित

Woman Tech Award 2082
Share It On:

२४ वैशाख, काठमाडौं।

सूचना प्रविधि (आईटी) क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी सुनैना पाण्डे ‘वुमन इन टेक’ अवार्डबाट सम्मानित भएकी छिन्। बुधबार काठमाडौंमा न्यू बिजनेस एज लिमिटेडद्वारा आयोजित पाँचौं ‘न्यूबिज बिजनेस वुमन समिट एन्ड अवार्ड्स २०२५’ मा उनलाई यो सम्मान प्रदान गरिएको हो।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) की अध्यक्षसमेत रहेकी पाण्डेले सूचना प्रविधि क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव सँगालेकी छिन्। उनी सफ्टवेयर विकास कम्पनी जनरल टेक्नोलोजी प्रा.लि. (जेनटेक) की प्रबन्ध निर्देशक पनि हुन्।

सन् १९९८ मा प्रोग्रामर र इन्स्ट्रक्टरको रूपमा आईटी क्षेत्रमा प्रवेश गरेकी पाण्डेले माइक्रोसफ्टका विभिन्न अपरेटिङ सिस्टमहरूको स्थानीयकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्।

क्यान महासंघमा विभिन्न नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी पाण्डे सरकारद्वारा गठित सूचना प्रविधि सम्बन्धी उच्चस्तरीय आयोगमा समेत आवद्ध थिइन्। उनले विशेषगरी ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तारमा सक्रिय योगदान दिएकी छिन्।

महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले महिला उद्यमी महासंघमा समेत आवद्ध पाण्डेले महिला उद्यमीहरूका लागि ‘विनबिज’ नामक ई–कमर्स प्लेटफर्मको निर्माणमा सहकार्य गरेकी थिइन्।

सन् २०११ मा स्थापना भएको जेनटेकको नेतृत्व सम्हाल्दै उनले प्रविधिसम्बन्धी नीति निर्माणमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी छिन्। उनको कम्पनी जेनटेकले बैंकिङ, बीमा, उत्पादन, दूरसञ्चार, स्वास्थ्य, सरकार, शिक्षा, ई–कमर्स र खुद्रा लगायत विभिन्न क्षेत्रमा सफलतापूर्वक आईटी परियोजनाहरू सञ्चालन गरिरहेको छ।

यो सम्मानसँगै सूचना प्रविधि क्षेत्रमा महिला नेतृत्व र सहभागिता थप सशक्त हुने विश्वास गरिएको छ।

For more: Woman in Tech Award 2082


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *