बालबालिकामा चिसोको जोखिम र हेरचाह: डा. आन्ना शर्मासँगको विशेष कुराकानी
१९ पुष २०८२, काठमाडौं ।
देशभर बढ्दै गएको चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको छ। चिसोको प्रत्यक्ष असर सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धामा देखिन थालेको छ। चिसो मौसममा बालबालिकालाई देखिने स्वास्थ्य समस्या, यसका लक्षण र बच्ने उपायबारे बालरोग विशेषज्ञ डा. आन्ना शर्मासँग गरिएको कुराकानी:
विशेष गरी पाँच वर्षमुनिका बालबालिकामा रुघाखोकी, ज्वरो, झाडापखाला, निमोनिया र ब्रोंकोलाइटिस जस्ता समस्याको जोखिम उच्च रहेको चिकित्सकहरू बताउँछन्।
बालरोग विशेषज्ञ डा. आन्ना शर्माका अनुसार चिसो मौसममा भाइरसहरू बढी सक्रिय हुने र बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वयस्कको तुलनामा कम हुने भएकाले उनीहरू सजिलै संक्रमित हुने गर्छन्। “बालबालिकालाई भाइरस सार्ने मुख्य माध्यम हामी परिवारका सदस्य र विद्यालय नै हौँ,” डा. शर्मा भन्छिन्, “त्यसैले साना नानीबाबु भएका घरका सदस्यहरू थप सचेत हुन आवश्यक छ।”
डा. शर्माका अनुसार बालबालिकामा देखिने अधिकांश संक्रमण परिवारका सदस्य र विद्यालयमार्फत सर्ने गरेको छ। ‘बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुने भएकाले भाइरस सजिलै सर्छ। उनीहरूलाई भाइरस सार्ने हामी नै हौँ। त्यसैले साना बालबालिका भएका घरपरिवार अझ सचेत हुन आवश्यक छ,’ उनले भनिन्।
चिसो मौसममा देखिने भाइरसजन्य संक्रमणको असर मुख्यतः बालबालिकाको श्वासप्रश्वास प्रणालीमा पर्ने गर्छ। विशेषगरी समयभन्दा अगाडि जन्मिएका बालबालिकाको रोग प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले उनीहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिने गरेको डा. शर्माको भनाइ छ। यस्ता बालबालिकामा ब्रोंकोलाइटिसको समस्या पनि बढी देखिन्छ।
डा. शर्माका अनुसार पाँच वर्षमुनिका केही बालबालिकामा देखिने श्वासप्रश्वाससम्बन्धी समस्या समयसँगै पूर्ण रूपमा निको हुन सक्छ। तर आमाबुवामा दीर्घकालीन दमको समस्या भएमा उनीहरूका सन्तानमा पनि दम देखिने सम्भावना रहन्छ।
एलर्जी हुने, बारम्बार रुघाखोकी लागिरहने तथा छिटो–छिटो श्वास फेर्ने समस्या छ वर्षको उमेरसम्म पनि निको नभएमा भविष्यमा समस्या दोहोरिन सक्ने उनी बताउँछिन्।
यदि बच्चामा सास फेर्न गाह्रो हुने, अक्सिजनको मात्रा कम भएर स्वाँ–स्वाँ आवाज आउने, उच्च ज्वरो, खानामा अरुचि, पिसाब कम हुने वा झाडापखालाजस्ता लक्षण देखिए ढिला नगरी तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न डा. शर्माको सुझाव छ।
श्वासप्रश्वासको समस्या बढ्दै गएमा निमोनिया र ब्रोंकाइटिसजस्ता गम्भीर अवस्था देखिन सक्ने र यस्ता अवस्थामा अस्पतालमा भर्ना गरेर अक्सिजनसहित उपचार गर्नुपर्ने उनी बताउँछिन्।
‘शरीरमा अक्सिजनको मात्रा कम हुँदा बच्चाले छिटो–छिटो श्वास फेर्ने र घ्यार–घ्यार आवाज आउने लक्षण देखिन्छ। यस्ता संकेत देखिएपछि तुरुन्त अस्पताल जानुपर्छ,’ उनले भनिन्।
सामान्य रुघाखोकीको अवस्थामा घरमै बाफ लगाउँदा नाक खुल्ने र केही राहत मिल्ने डा. शर्माको भनाइ छ। साथै बालबालिकालाई तातो, झोलिलो खानेकुरा, फलफूल खुवाउन र जाडो महिनामा रोग प्रतिरोधात्मक क्षमता बढाउन भिटामिन ‘सी’ युक्त खानेकुरामा विशेष ध्यान दिनुपर्ने उनले सुझाइन्।
सुन्तलालगायत भिटामिन ‘सी’ युक्त फलफूल उपयोगी हुने उनको भनाइ छ। सन्तुलित भोजन गराउने, तातो न्यानो कपडा लगाइदिने तर पसिना आउने गरी धेरै कपडा नलगाउने, ज्वरो नघटेमा वा समस्या बढेमा तुरुन्त अस्पताल लैजान उनले आग्रह गरिन्।
कुन उमेर समूहका बालबालिका बढी जोखिममा हुन्छन्?
- दुई वर्षमुनिका शिशु
- पुराना स्वास्थ्य समस्या भएका बालबालिका
- पोषणको कमी भएका बालबालिका
- कमजोर रोग प्रतिरक्षा प्रणाली भएका बालबालिका
- खुला ठाउँमा सुत्ने वा पर्याप्त न्यानो लुगा नलगाइने बालबालिका
पाँच वर्षमुनिका बालबालिकालाई भाइरसजन्य रोगबाट जोगाउन वर्षमा एक पटक इन्फ्लुएन्जा खोप लगाउन पनि डा. शर्माले आग्रह गरेकी छन्। इन्फ्लुएन्जा खोपले रोग पूर्ण रूपमा रोक्न नसके पनि जटिल अवस्था हुन नदिने र फ्लुबाट हुने जोखिम कम गर्न मद्दत गर्ने उनको भनाइ छ।
को हुन् डा. आन्ना शर्मा?
डा. आन्ना शर्मा नेपाल मेडिसिटी अस्पतालको बालरोग विभागकी वरिष्ठ चिकित्सक तथा विभाग प्रमुख हुन्। उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (IOM) बाट MBBS र MD अध्ययन पूरा गरेकी हुन्।
उनी लामो समयदेखि बालबालिकाको उपचारमा संलग्न रहँदै आएकी छन्। यसअघि उनले विभिन्न निजी मेडिकल कलेज र अस्पतालहरूमा काम गर्दै बाल स्वास्थ्य क्षेत्रमा राम्रो अनुभव बटुलेकी छिन्।
हाल डा. शर्मा नेपाल मेडिसिटी अस्पतालमा बालबालिकाको ओपिडी सेवा, भर्ना भएका बिरामीहरूको उपचार तथा बाल सघन उपचार कक्ष (PICU) को जिम्मेवारी सम्हालिरहेकी छिन्। उनी नवजात शिशुदेखि किशोर–किशोरीसम्मका बालबालिकामा देखिने सामान्यदेखि जटिल रोगहरूको उपचारमा सक्रिय छिन्।
उनी अस्पतालका नीति निर्माण र सेवा गुणस्तर सुधारसँग सम्बन्धित समितिहरूमा पनि सहभागी छिन्। साथै, उनी नेपाल पेडियाट्रिक सोसाइटी (NEPAS) र नेपाल चिकित्सक संघकी सक्रिय सदस्य हुन्।
डा. शर्माले बोस्टन विश्वविद्यालयबाट बाल पोषणसम्बन्धी विशेष अध्ययन पनि गरेकी छिन्। बालबालिकाको सही खानपान र पोषणमा उनको विशेष चासो छ। नेपाली बालबालिकाको स्वास्थ्य सुधार र राम्रो उपचार सेवा दिन उनी निरन्तर समर्पित रहँदै आएकी छिन्।
For More: Winter Child Health Dr. Anna



