रामेछापमा जङ्गली जनावरको आक्रमण, ६५ वर्षीय महिलाको दुःखद मृत्यु
१३ मङ्सिर काठमाडौँ ।
रामेछापको मन्थली नगरपालिका–९ बाङ्गेसल्लामा जङ्गली जनावरको आक्रमणबाट ६५ वर्षीया गङ्गामाया तामाङको मृत्यु भएको छ। घरबाट गोठतर्फ गएकी तामाङलाई बाघ वा चितुवाले आक्रमण गरेको हुन सक्ने स्थानीयको आशङ्का रहेको वडा सदस्य धनलाल तामाङले जानकारी दिए ।
घरमा एक्लै बस्दै आएकी तामाङको शव पुरानागाउँ–भटौली सडक खण्डअन्तर्गत मन्थली नगरपालिका–७ र ९ को सिमाना रहेको बाङ्गेसल्ला पिपलडाँडा नजिकै शनिवार बिहान चिथोरिएको अवस्थामा फेला परेको छ ।
Advertisement
गला फूटेको र शरीरका विभिन्न भागमा गम्भीर चोटसहित शव भेटिएको वडा सदस्य तामाङले बताए ।
उनका अनुसार घटना स्थल तामाङको गोठ रहेको पिपलडाँडाबाट करिब १०० मिटर दूरीमा पर्छ। शुक्रवार साँझ गोठमा जाँदै वा फर्कँदै गर्दा उनी बाघ वा चितुवाको आक्रमणमा परेको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

