१ असोज, काठमाडौं।
हालैको आन्दोलनमा आगलागीबाट क्षतिग्रस्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुनर्निर्माणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। डब्ल्यूएचओले मन्त्रालयलाई नयाँ संरचना निर्माणमा प्राविधिक सल्लाह र आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ।
डब्ल्यूएचओ नेपालका प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डव नेतृत्वको टोलीले सोमबार मन्त्रालयको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणपछि सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै डा. पाण्डवले भने, “मन्त्रालयसँग छलफल भइरहेको छ, हामीले गर्नुपर्ने सहयोग अवश्य गर्नेछौं।”
डब्ल्यूएचओले मन्त्रालयमा आवश्यक पर्ने स्वास्थ्य उपकरण र सामग्रीहरू उपलब्ध गराउने योजना बनाएको छ। ती सामग्रीमा आकस्मिक अवस्थामा प्रयोग हुने उपकरणहरू जस्तै सास फेर्न सहयोग गर्ने सामग्री, आईभी फ्लुइड, विभिन्न इन्जेक्सन, रक्तस्राव नियन्त्रणका सामग्री, शल्यक्रियाका उपकरण र स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि आवश्यक वस्तुहरू समावेश छन्।
यसअघि डब्ल्यूएचओले जेन-जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको उपचारमा संलग्न सिभिल सर्भिस अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई ३५ वटा ट्रमा ब्याग उपलब्ध गराइसकेको थियो। प्रत्येक ट्रमा ब्यागमा बिरामीको अवस्था स्थिर राख्न र प्राथमिक उपचारका लागि आवश्यक जीवनरक्षक सामग्रीहरू रहेका छन्।
विशेषज्ञहरूको विश्वास छ कि डब्ल्यूएचओको सहयोगले मन्त्रालयलाई क्षतिग्रस्त संरचना पुनर्निर्माण र स्वास्थ्य सेवाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न ठूलो मद्दत पुग्नेछ।
For More:-WHO technical support Health Ministry