पोखराको लेकसाइडमा ‘वाडा अटो शो २०२६’ आयोजना हुँदै: ह्युमानोइड रोबोट र भिन्टेज कार मुख्य आकर्षण
१० चैत, काठमाडौँ।
गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सवारी प्रदर्शनी ‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ यही चैत्र ११ गतेदेखि १५ गतेसम्म पर्यटकीय नगरी पोखराको लेकसाइडमा आयोजना हुने भएको छ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन (वाडा) को आयोजना र नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालको प्रस्तुतिमा हुन लागेको यस मेला ताल बराही चोकस्थित खेल मैदानमा सञ्चालन हुनेछ।
पोखरा महानगरपालिका यस भव्य प्रदर्शनीको प्रबद्र्धक रहेको छ।
के-के छन् त मुख्य आकर्षणहरू?
यस पटकको अटो शो केवल गाडीहरूको प्रदर्शनीमा मात्र सीमित छैन। आयोजकका अनुसार यस वर्ष प्रविधि र इतिहासको अनौठो संगम देख्न पाइनेछ:
अत्याधुनिक रोबोट प्रदर्शनी: पहिलो पटक नेपालमा भित्रिएका युनीट्रि जी-वान (Unitree G1) ह्युमानोइड रोबोट, युनीट्रि गो-टु र नेपाली रोबोट ‘चंखे’ को प्रत्यक्ष प्रदर्शन गरिनेछ।
भिन्टेज कार शो: नयाँ पुस्तालाई नेपालका ऐतिहासिक र पुराना मोडेलका कारहरूको बारेमा जानकारी दिन विशेष ‘भिन्टेज कार शो’ राखिएको छ।
सवारी साधनका विभिन्न ब्राण्डहरू: प्रदर्शनीमा १६ वटा ब्राण्डका ४-पाङ्ग्रे, १० वटा ब्राण्डका २-पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल र १ वटा हेभी कमर्शियल सवारी साधनहरू रहने छन्।
सहभागी ब्राण्डहरू: बीवाइडी (BYD), हुण्डाई (Hyundai), किया (Kia), टाटा (Tata), सुजुकी (Suzuki), एमजी (MG), महिन्द्रा, रोयल इन्फिल्ड, यामाहा जस्ता प्रख्यात कम्पनीहरूको सहभागिता रहनेछ।
डिजिटल भुक्तानीमा विशेष सहुलियत
प्रदर्शनीको टिकटिङ्ग पार्टनर खल्ती (Khalti) एप रहेको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न क्यु आर पार्टनर युनियन पे (Union Pay) ले विशेष क्यासब्याकको व्यवस्था गरेको छ:
प्रत्येक दिन पहिलो १०० जना साधारण टिकट खरिदकर्तालाई ५० प्रतिशत क्यासब्याक।
प्रत्येक दिन पहिलो १०० जना विद्यार्थीलाई १०० प्रतिशत (पूर्ण) क्यासब्याक।
अर्थतन्त्र र पर्यटनमा टेवा
५ दिनसम्म चल्ने यस मेलामा लगभग ४५,००० आगन्तुकहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ। अटो व्यवसायको सुदृढीकरणका साथै यसले आन्तरिक पर्यटन र स्थानीय व्यवसायिक समस्याहरूको समाधान खोज्न साझा थलोको रूपमा काम गर्ने विश्वास आयोजकको छ।
प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (GEMS) ले गरिरहेको छ।
For more: WADA Auto Show 2082 Pokhara


