विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तयारीमा गृहमन्त्री अर्याल
२ असोज, काठमाडौं।
आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा बस्ने नेपालीले मतदान गर्न पाउने सम्भावना बढेको छ। बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीले मतदानको अवसर पाउनुपर्नेमा जोड दिएका छन्।
गृहमन्त्री अर्यालले कम्तीमा समानुपातिकतर्फ भए पनि मतदानको व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए। उनले निर्वाचन आयोगलाई “गाँठो फुकाउन” निर्देशन दिएका छन् भने आवश्यक भए सरकारले अध्यादेशमार्फत पनि कानून संशोधन गरेर विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने बताएका छन्।
अधिवक्तासमेत रहेका गृहमन्त्रीले सर्वोच्च अदालतको आदेशअनुसार सकेसम्म सबै देशमा रहेका नेपालीलाई मतदानको अवसर दिलाउनुपर्ने पनि जोड दिएका छन्। साथै, सरकारले अध्यादेशमार्फत नयाँ मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ।
गृहमन्त्री अर्यालले जेनजीलको माग बमोजिम १८ वर्ष उमेर पुगेका तर मतदाता नामावलीमा नरहेका नागरिकले मतदान गर्न सकून् भन्ने व्यवस्था गर्न आवश्यक कानून संशोधन गर्नुपर्ने बताए। वर्तमान कानूनअनुसार निर्वाचन मिति घोषणा भएपछि मतदाता थप्न नमिल्ने भएकाले आयोगले यसका लागि प्रस्ताव अघि बढाउनुपर्ने उनले उल्लेख गरे।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेको विषम परिस्थितिमा आवश्यक कानून संशोधन गरेर सबैको मतदान अधिकार सुनिश्चित गर्ने आयोग बाधक नबन्ने बताएका छन्।
गृहमन्त्री अर्यालले विदेशमा रहेका नेपालीले मतदान गर्ने व्यवस्था जसरी पनि मिलाउनुपर्ने अडान लिएका छन्। उनले सम्बन्धित देशका दूतावासमार्फत मतदानको व्यवस्था गर्ने र नो भोटको विकल्प समेत राखिने जानकारी दिएका छन्।
For More:-Voting Rights for Nepalis Abroad