नेपाल एसबीआई बैंकको अध्यक्षमा वेंकट वंसीधर कुंचा,गर्भनरले गराए पद तथा गोपनीयताको शपथ
१६ कात्तिक २०८२, काठमाडौं ।
नेपाल एसबिआई बैंक लिमिटेडका संचालक समिति अध्यक्ष पदमा वेंकट वंसीधर कुंचा चयन भएका छन्। नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले आज बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा कुंचालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
नेपाल एसबिआई बैंकको संचालक समितिको ५३६औँ बैठक (कात्तिक १४) मा स्टेट बैंक अफ इण्डियाबाट प्रतिनिधित्व गर्दै आएका कुंचालाई सर्वसम्मतिपूर्वक अध्यक्षमा चयन गरिएको थियो। कुंचा हाल मुम्बईस्थित स्टेट बैंक अफ इण्डियाको प्रधान कार्यालयमा अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धक (Chief General Manager) पदमा कार्यरत छन्। उनले एस.बी.आई.को २९ देशमा फैलिएको अन्तर्राष्ट्रिय व्यवसाय र सम्बन्धित व्यवस्थापनको नेतृत्व गर्दै आएका छन्।
सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, कार्यकारी निर्देशक (का.मु.) राजन विक्रम थापा, निर्देशकहरू राजेन्द्र भट्टराई, ईश्वरी प्रसाद भट्टराई र शरण कुमार अधिकारी उपस्थित थिए।
त्यस्तै, नेपाल एसबिआई बैंकका संचालक रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती, डा. गोपालप्रसाद भट्ट, प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा र कम्पनी सचिव खगेश्वर भट्ट लगायतका वरिष्ठ पदाधिकारीहरूले पनि सहभागिता जनाएका थिए।
नवनियुक्त अध्यक्ष कुंचाले बैंकको अन्तर्राष्ट्रिय व्यवसाय विस्तार र व्यवस्थापनमा सशक्त नेतृत्व प्रदान गर्ने अपेक्षा व्यक्त गरिएको छ।
For More:-Venkat Kuncha SBI Chairman

