२९ फागुन , काठमाडौं ।
रोलर मिल एशोसिएसन अफ इन्डियाले २०२५ मार्च ३ र ४ मा गोवामा आयोजना गरेको सेमिनारको निमन्त्रणामा नेपाल मैदा उद्योग संघले प्रतिनिधिमुलक सहभागिता जनाएको छ ।
रोलर मिल एशोसिएसन अफ इन्डियाले यस प्रकारको कार्यक्रम प्रत्येक ५ वर्षमा एकपटक आयोजना गर्ने गरेको छ । यस कार्यक्रममा भारतका ६०० भन्दा धेरै मैदा आँटा मिल कम्पनीहरु तथा अन्य वैदेशिक राष्ट्रका मिलिङ कम्पनीहरु र खाद्यान्न उत्पादन, खाद्य सुरक्षा, खाद्य व्यस्थापन एवं खाद्य प्रशोधन प्रविधिसँग सम्बन्धित कम्पनी र विषेशज्ञहरुको उत्साहजनक सहभागिता थियो ।
सो कार्यक्रममा नेपाल फ्लोर मिल्स एसोसिएसनका अध्यक्ष कुमुद दुगडज्यूको नेतृत्वमा नेपालका प्रतिष्ठित १६ मैदा मिल कम्पनीहरुले सहभागिता जनाएका थिए । ३ दिने कार्यक्रममा मैदा मिलको भविष्य, गहुँको उत्पादन, खाद्य सुरक्षा, नयाँ प्रविधि र विभिन्न चुनौती लगायतका विषयमा विस्तारमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
गहुँ लगायत अन्य विभिन्न बालीको निरीक्षण एवं उत्पादन वृद्धि गर्नको लागि स्याटलाइटबाट वास्तविक उत्पादनको क्षेत्रफल र अवस्था निरीक्षण गर्ने, उत्पादनको भविष्यबाणी गर्ने गरेको कुरा विभिन्न विषेशज्ञहरुले प्रष्ट पार्नुभयो ।
जसले गर्दा वास्तविक कृषि उत्पादन वृद्धि गर्नको लागि योजनाबद्ध तरिकाले काम गर्न र उत्पादन बढाउन सहयोग भएको पाइयो । त्यस्तै लामो समयका लागि खाद्य भण्डारण गर्दा अपनाउनुपर्ने कुराहरु र त्यसैक्रममा उपयोग हुने प्रविधिहरुका विषयमा विभिन्न कम्पनीका प्रतिनिधि र खाद्य भण्डारण विषेशज्ञहरुले प्रष्ट पार्नुभयो ।
गहुँको बजारीकरण, भण्डारण, निरीक्षण र प्रशोधन सम्बन्धी प्राविधिक कम्पनीहरुको मेसिन तथा इक्वीपमेन्ट प्रदर्शनीमार्फत नयाँ प्रविधिको बारेमा विस्तारमा जानकारी प्राप्त भयो ।
उक्त कार्यक्रममा नेपाल र भारतका मैदा मिल कम्पनीहरुका बीचमा पारस्पर प्रविधि आदानप्रदान, प्राविधिक ट्रेनिङ्ग कार्यक्रम मार्फत प्राविधिक जनशक्ति उत्पादन, खाद्य सुरक्षा लगायतका विषयमा मिलेर अगाडि बढ्ने सहमति भएको छ ।
कार्यक्रममा सहभागी नेपालका प्रतिनिधिहरूले कार्यक्रम निकै उत्साहजनक र ज्ञानवद्र्घक रहेको बताएका छन् । कार्यक्रमबाट प्राप्त ज्ञानले नेपालमा गहुँको उत्पादन, भण्डारण, निरीक्षण, प्रशोधन, गहुँजन्य गुणस्तरीय वस्तुको उत्पादन र बजारीकरणमा ठूलो भूमिका निर्वाह गर्ने कुरा सहभागीहरुले औँल्याएका छन् ।
हाल नेपालमा एक तिहाई जनसंख्या बाहिर रहेको र मुख्य आहारको रूपमा चामलको खपत धेरै छ । यसलाई आधार मान्दा गहुँको औद्योगिक र घरेलु खपत जम्मा १२ लाख टन आँकलन गरिएको छ । जसमध्ये नेपालमा ४ लाख टन गहुँको अभाव देखिन्छ जुन भारत लगायत अन्य मुलुकबाट परिपूर्ति गर्नुपर्ने अवस्था छ ।
नेपालले मुख्यतया गहुँको आयात भारतबाट गर्दै आएको भयता पनि भारतले विगत निरन्तर ४ वर्षदेखि गहुँको नेपाल निर्यातमा प्रतिबन्ध लगाएको छ । यस वर्ष भारत सरकारले नेपाल सरकारलाई नेशनल कोअपरेटिव एक्सपोर्ट लिमिटेड मार्फत २ लाख टन गहुँ निर्यात गर्ने निर्णय गरेको छ ।
यसै बिचमा डेलिगेशनले दिल्लीमा रहेको भारत सरकार भारतिय कम्पनीका प्रबन्ध निर्देशक अनुपम कौशिक लगाएतका टिमसँग ५ मार्चमा भेट गरी सहज तरिकाले गहुँ आयात गर्ने सम्बन्धमा विस्तृत छलफल गरेको थियो । विगतमा चामल, चिनी लगायत अन्य आयातमा कठिनाइ देखिएको थियो ।
यस अत्यन्त जरुरी बैठकले अब हुने गहुँ आयातका क्रममा त्यस प्रकारका विभिन्न विषयमा नेपाल फ्लोर मिल एशोसिएसन र नेशनल कोअपरेटिव एक्सपोर्ट लिमिटेडका बीचमा गहन छलफल गरी समस्या र कठिनाइहरुको निवारण गर्दै दुवै पक्षलाई सहज र विश्वासको वातावरण बनाएर काम गर्ने सहमति भएको छ ।
फेडरेशन अफ रोलर्स फ्लोर मिल इण्डियाद्वारा आयोजित द फ्यूचर अफ मिलिङ, भिजन २०३० एण्ड वियोण्ड विषयक सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुहुने यस संघका अध्यक्ष कुमुद दुगडज्यूलाई सम्मान गरिएको थियो ।
भारतीय लोकसभाका सांसद प्रबिण खण्डेलवाल सहित फेडरेसन अफ रोलर्स फ्लोर मिल इण्डियाका केन्द्रिय अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्व समेतको उपस्थितिमा उहाँलाई सम्मान गरिएको हो । नेपाल मैदा उद्योग संघले पहिलो पटक यति ठुलो समारोहमा सहभागिता हुनु र नेपालकै तर्फबाट सम्मानित हुन हामी मैदा उद्यमीको मात्र नभई नेपालको समेत शीर उच्च भएकोमा हामी सबैले गौरवान्वित महसुस गरेका छौँ ।
नेपाल फ्लोर मिल एशोसिएसनका अध्यक्ष कुमुद दुगडले नेपालमा गहुँको उत्पादन वृद्धि गर्न, गहुँको भण्डारण व्यवस्थित गर्न, खाद्य सुरक्षा कायम राख्दै गहुँजन्य आँटा, मैदा, सुजी, चोकर लगायतका वस्तुहरुको गुणस्तरीय उत्पादन गर्न सधैँ सरकारका विभिन्न निकाय र सरोकारवाला निकायहरुसँग सहकार्य गरी अगाडि बढ्न नेपाल फ्लोर मिल एशोसिएसन सदैव तत्पर रहेको सन्देश समेत दिनुभयो ।
नेपालमा गहुँको वास्तविक उत्पादन स्याटलाइट लगायत विभिन्न प्रविधि र वास्तविक मौज्दातको तथ्याङ्कमार्फत पुनः गणना गरी यसको वास्तविक तथ्यांक सार्वजनिक गर्न आग्रह गरेका छौँ ।
भारत सरकारले फ्लोर मिलमा कार्यरत प्राविधिकलाई नयाँ प्रविधिमुलक उत्पादनका लागि लखनउमा प्राविधिक तालिम केन्द्र सञ्चालनमा ल्याईने, भारत सरकारले गहुँ बोर्ड गठन गर्ने, तथा नेपालका उद्योगी व्यवसायी र प्राविधिकलाई नयाँ प्रविधिको जानकारी गराउन नियमित रुपमा तालिमको अवसर प्रदान गरिने घोषणा समेत सम्मेलनमा भएको थियो ।