अप्रिल १ देखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने
७ चैत, काठमाडौँ ।
भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेडले आगामी अप्रिल १, २०२६ देखि आफ्ना प्यासेन्जर सवारी साधनहरूको मूल्य वृद्धि गर्ने घोषणा गरेको छ ।
कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्ना कार तथा एसयूभीहरूको मूल्य बढाउन लागेको जानकारी दिएको हो । टाटा मोटर्सका अनुसार कच्चा पदार्थ र उत्पादन लागतमा भइरहेको निरन्तर वृद्धिको असरलाई कम गर्न यो निर्णय लिइएको हो ।
कम्पनीले भनेको छ,‘आइसीई पोर्टफोलियोमा औसत मूल्य वृद्धि ०.५ प्रतिशत हुनेछ । मोडल र भेरियन्ट अनुसार मूल्य वृद्धिको दर फरक–फरक हुन सक्छ ।’
यसअघि सोमबार मात्रै कम्पनीले आफ्ना व्यावसायिक सवारी साधनको मूल्यमा पनि १.५ प्रतिशतसम्म वृद्धि गर्ने घोषणा गरेको थियो, जुन अप्रिल १ देखि नै लागू हुनेछ ।
मूल्य वृद्धिको घोषणाका बीच सोमबार भारतीय शेयर बजारमा टाटा मोटर्सको शेयर मूल्य २.८१ प्रतिशतले बढेर ४३७.६० भारुमा बन्द भएको छ । विलासी कार निर्माता मर्सिडीज–बेन्ज इन्डियाले पनि हालै आफ्नो गाडीको मूल्य बढाएको थियो ।
अटोमोबाइल क्षेत्र हाल विभिन्न संरचनात्मक चुनौतीहरूसँग जुधिरहेको छ । कच्चा पदार्थको बढ्दो मूल्य, आपूर्ति शृङ्खलामा अवरोध र पछिल्लो समय देखिएको मेमोरी चिपको अभावले उत्पादनमा असर पारेको ‘एलारा सेक्युरिटिज’को रिपोर्टले औंल्याएको छ ।
रिपोर्टका अनुसार, सन् २०२६ को सुरुवात विश्वव्यापी अटो बजारका लागि उत्साहजनक देखिएको छैन् । जनवरी २०२६ मा चीनमा सवारी साधनको बिक्री ६.८ प्रतिशत, अमेरिकामा ०.८ प्रतिशत र युरोपमा ३.९ प्रतिशतले गिरावट आएको छ ।
बढ्दो लागत र कमजोर मागका बीच टाटा मोटर्सले गरेको यो मूल्य वृद्धिले उपभोक्तालाई भने थप आर्थिक भार पर्ने देखिएको छ ।
For more: Tata Motors Price Hike Nepal


