स्वस्तिक एग्रो इण्डष्ट्रिजले प्राथमिक शेयर निष्काशन गर्ने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक नियुक्त
२२ भदौ, काठमाडौं।
श्री स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले निकट भविष्यमा सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीले विद्यमान साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोवार नियमावली, २०८१ अन्तर्गत रहेर आवश्यक प्रक्रिया पूरा गरी नियामक निकायबाट स्वीकृति लिएपछि निष्काशन गर्ने जनाएको छ।
यस कार्यका लागि कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।
सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिजका अध्यक्ष तथा प्रबन्ध संचालक सत्य नारायण झा र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।
स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेड नेपालमा दुग्ध तथा दुग्धजन्य उत्पादन क्षेत्रमा परिचित नाम हो। कम्पनीले “गोठदेखि भान्सासम्म” भन्ने नाराका साथ शुद्ध दही, घ्यू, चकलेट, पनीर लगायतका उत्पादन बजारमा ल्याउँदै आएको छ।
धनुषा जिल्लाको गोदारस्थित २ बिघा क्षेत्रफलमा सञ्चालन भइरहेको फार्ममा हाल जर्सी तथा होल्स्टोन जातका ३५ गाईमार्फत दैनिक २०० लिटरभन्दा बढी दुग्ध उत्पादन भइरहेको छ।
निकट भविष्यमा गाईको संख्या १०० पुर्याउने योजना रहेको कम्पनीले जनाएको छ। साथै, प्याकेजिङ उद्योग स्थापना गरी नेपाललाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन अध्ययन अनुसन्धान भइरहेको छ।
For More:-Swastik Agro Industries IPO