सुरक्षित डिजिटल संसारका लागि महिला सशक्तिकरण: क्यान महासंघद्वारा ‘SheSecure 2026’ वेबिनार सम्पन्न
२७ फागुन, काठमाडौँ ।
११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको विशेष अवसरमा क्यान महासंघ (CAN Federation) अन्तर्गतको ‘Women in IT Committee’ ले महिलाहरूलाई डिजिटल सुरक्षा र साइबर सचेतना प्रदान गर्ने उद्देश्यले “SheSecure 2026: Empowering Women for a Safer Digital World” शीर्षकको वेबिनार सफलतापूर्वक सम्पन्न गरेको छ।
डिजिटल युगमा महिलाहरूको सुरक्षित सहभागिता सुनिश्चित गर्न र उनीहरूलाई अनलाइन माध्यममा हुनसक्ने जोखिमबाट बचाउन यो कार्यक्रम आयोजना गरिएको हो। Women in IT Committee की संयोजक सरिता न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा चासो राख्ने देशभरका करिब १४० जना महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमकी प्रमुख अतिथि नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले वर्तमान समयमा महिलाहरू साइबर ठगी र अनलाइन दुर्व्यवहारको उच्च जोखिममा रहेको बताए।
उहाँले डिजिटल सुरक्षा सम्बन्धी सचेतना आजको अनिवार्य आवश्यकता रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न क्यान महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा क्यान महासंघकी केन्द्रीय अध्यक्ष सुनैना पाण्डे घिमिरे र महासचिव चन्द्रबिलास भुर्तेलले साइबर सुरक्षा र डिजिटल साक्षरता अभियानलाई देशभर निरन्तरता दिने योजना सुनाईन।
वेबिनारमा मुख्य स्रोत व्यक्तिको रूपमा नेपाल बैंक लिमिटेडको ‘Card and Digital Banking Division’ की प्रमुख बन्दना शर्माले विशेष प्रस्तुतीकरण दिनुभएको थियो। उहाँले साइबर सुरक्षाका आधारभूत पक्षहरू, फिसिङ, अनलाइन ठगी, डिपफेक (Deepfake) प्रविधिको दुरुपयोग र रोमान्स स्क्याम जस्ता आधुनिक साइबर अपराधका बारेमा विस्तृत जानकारी प्रदान गरे।
साथै, उहाँले बलियो पासवर्डको प्रयोग, मल्टी-फ्याक्टर अथेन्टिकेसन (MFA) को महत्व र साइबर अपराधको सिकार भएमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिने प्रक्रियाबारे पनि व्यावहारिक सल्लाह दिए।
क्यान महासंघले महिलाहरूलाई सुरक्षित र जिम्मेवार डिजिटल यात्राका लागि प्रेरित गर्न यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने बताएको छ।


