सेयर धितो कर्जाको सिमा हट्यो, बैंकले बिक्री गर्न सक्ने लकइन अवधि परिमार्जन
२२ असोज २०८२, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सेयर बजार मैत्री नीति लागु गर्दै बैंक तथा वित्तीय संस्थाका लागि महत्वपूर्ण सुधार गरेको छ।
बुधबार जारी गरिएको सर्कुलर अनुसार, राष्ट्र बैंकले व्यक्तित्व सेयर धितो कर्जाको २५ करोडको सिमा हटाएको छ। अब व्यक्तिहरू बैंक तथा वित्तीय संस्थाबाट अनलिमिटेड ऋण लिन सक्ने भएका छन्।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाले सेयर खरिद गरेर बिक्री गर्न पाउने १ वर्षको लकइन अवधि पनि हटाइएको छ। अब बैंकहरूले खरिद गरेको सेयर ६ महिनाभित्रै बिक्री गर्न सक्नेछन् र २० प्रतिशतको सिमा पनि हटाइएको छ।
राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लागू हुने अधिकतम सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गरेको छ। यसअघि एकल ग्राहकको अधिकतम कर्जा सीमा २५ करोड रुपैयाँ कायम गरिएको थियो।
साथै, संगठित संस्थाको शेयर, डिबेञ्चर तथा अन्य लगानी सम्बन्धी नियम पनि लचक बनाइएको छ। अब बैंकहरूले ६ महिनाभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउनेछन्। धितोपत्र विनिमय बजारमा सूचीकृत नभएका शेयर वा डिबेञ्चरमा लगानी गरेमा, ३ वर्षभित्र सूचीकृत नभएमा लगानी रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ।
यसैगरी, पहिले बैंकहरूले खरीद गरेको सेयर बिक्रीमा प्राथमिक पूँजीको २० प्रतिशतको सिमा लागू थियो, जुन अब हटाइएको छ।