सुरक्षण मुद्रण केन्द्रले छापेका लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्तरण
५ मङ्सिर, काठमाडौँ।
सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) ले पहिलोपटक छपाई गरेको सवारीचालक अनुमति पत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ ।
क्यूआर कोड सहितको लाइसेन्सको परिक्षण सफल भएसँगै केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङगानाले शुक्रबार यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई लाईसेन्स हस्तान्तरण गरेका हुन् ।
पहिलो चरणमा केन्द्रले ५ सय २० थान लाइसेन्स हस्तान्तरण गरेको छ । दोस्रो चरणको करिब १२ सय आवेदकको तथ्यांक केन्द्रलाई प्राप्त भएको र छपाइ निरन्तर हुनेछ ।
कार्यकारी निर्देशक ढुङ्गानाले विभागले उपलब्ध गराएको तथ्यांकका आधारमा छपाई तीब्र गतिमा हुने बताए । उनले विभागले जति धेरे तथ्याङ्क पठाउछ सोही आधारमा जतिपनि लाइसेन्स छाप्न सकिने उल्लेख गरे । कार्यकारी निर्देशक ढुङ्गानाले छापिएका नयाँ लाइसेन्सको नेपालकै ल्याब मार्फत विभिन्न मापदण्डको गुणस्तर परीक्षण गरेर विभागलाई उपलब्ध गराइएको हो ।
विभागका निर्देशक खतिवडाले मुद्रण केन्द्रबाट लाइसेन्स प्राप्तभएसँगै ठूलो समस्याको समाधान भएको उल्लेख गरे । उनले भने,“संस्थाको समस्या समाधान भएको छ, हामी हर्षित छौँ । विभागमा विगत ४/५ वर्षदेखि लाइसेन्सको समस्या थियो । सेवाग्राहीको समस्या समाधानको सकारात्मक पहल भएको छ । पछिल्लो पटक सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर लाइसेन्स प्राप्त भएको छ । यस कार्यलाई निरन्तरता दिइनेछ ।”
लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच गत कार्तिक १२ गते सम्झौता भएको थियो । जसअनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्नेछ ।
विभागले वैकल्पिक सफ्टवेर बनाएर दैनिक दुई हजार तथ्यांक केन्द्रलाई उपलब्ध गराउन सकिने जनाएको छ । एक महिनाभित्र नयाँ सफ्टवेयर विकास गरिने विभागको भनाई छ ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको भवनमा गत कात्तिक २१ गतेदेखि लाईसेन्स छपाई सुरु भएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले केन्द्रमा रहेको प्रिन्टिङ प्रेसको बटन थिचेर लाइसेन्स छपाइको शुभारम्भ गर्नुभएको थियो ।
केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले विभागसँगको सम्झौता अनुसार सुरुको तीन महिना महिनाको एकलाखका दरले तीन महिनामा तीन लाख र बाँकी तीन महिनमा नौ लाख गरी कूल १२ लाख लाइसेन्स छपाई गरिनेछ ।
केन्द्रले लाइसेन्सका अलावा केहीदिनभित्रै हुलाक टिकट छपाई सुरु गर्ने तयारी गरेको छ । त्यसपछि नागरिकता, अन्तशुल्क स्टिकर, लालपूर्जा र भिषा स्टिकर छपाई गर्नेछ ।
केन्द्रबाट छपाई हुने कार्डमा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ । यसमा उच्चस्तरको सुरक्षा प्रणाली रहेका छन् । नयाँ कार्डमा छ तहसम्म सुरक्षा प्रविधि प्रयोग हुनेछ । कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन्, जसमा केही दृश्य र केही अदृश्य रहनेछन् ।
For More:-License Handover Transport Management



