२४ असार, काठमाडौं ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले रसुवा जिल्लामा हालै गएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन सम्पूर्ण पीडितहरूलाई आग्रह गरेको छ।
यस विपदले मानवीय जनजीवनका साथै मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ–रसुवागढी—मार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पारेको नाडाले जनाएको छ।
विज्ञप्तिमा भन्सार परिसरमा रहेका निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनरहरू समेत बाढीले बगाएको उल्लेख छ। नाडाले सम्पूर्ण पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्दै घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय रहेको बताएको छ।
नाडाले हरेक कठिन घडीमा अटोमोबाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको साथमा रहँदै आएको बताउँदै पीडितहरूको हिम्मत, धैर्यता र पुनःस्थापनाका प्रयासमा ऐक्यबद्धता जनाएको छ।
यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव भएमा जानकारी गराउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दै, यो संकटको घडीमा सबै मिलेर सहयोग र करुणाका साथ अघि बढ्न नाडाले अपिल गरेको छ।
For More:-Rasuwa Floods Impact Auto Imports