२ मंसिर, काठमाडौँ।
नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गीले कात्तिक १५ गते लक्ष्मीपूजालाई लक्षित गर्दै प्रदर्शनमा आएको दिनदेखि देशभर हाउसफुल शो प्रदर्शन गर्दै इतिहास रच्न सफल भएको छ। १६औँ दिनसम्म आइपुग्दा यो चलचित्रले करिब ३० करोड ग्रसकलेक्सन गर्न सफल भएको निर्माता विनोद पौडेलले जनाएका छन्।
पूर्णबहादुरको सारङ्गी एकैदिनमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको छ। सर्वाधिक कलेक्सन मात्र होइन, देशभर सबैभन्दा धेरै शो पाउने कीर्तिमान पनि यसले राखेको छ, हाल करिब ३५० भन्दा धेरै शोहरू यसको कब्जामा छन्।
चलचित्रले ओभरसिज बजारमा पनि नयाँ कीर्तिमान बनाएको छ। विदेशमा एक हप्तामा सर्वाधिक ग्रसकलेक्सन गर्ने नेपाली चलचित्र बनेको छ भने सर्वाधिक शो पाउने कीर्तिमान पनि बनाएको छ।
निर्माता पौडेलले भने, “हाम्रो मौलिक कथालाई नेपाल र विश्वभर दर्शकले दिनुभएको माया हाम्रा लागि अमूल्य छ। नेपाली दर्शकलाई सही जानकारी पुग्दा उनीहरूले नेपाली चलचित्रलाई माया गर्नेदेखि विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृत्ति हटाउने काम गरेका छौँ।”
देशभर दर्शकको चाप उच्च भएपछि चलचित्र टोली प्रमोशनका लागि होइन, आभार व्यक्त गर्न मोफसल भ्रमणमा निस्केको छ। अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत मुख्य टोली हल-हलमा पुगेर दर्शकलाई धन्यवाद दिइरहेका छन्।
तर, फेक ग्रसकलेक्सन रिपोर्टको आरोपपछि निर्माण पक्षले १९ वटा हलहरूमा शनिबारबाट चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेको छ। ती हलहरूमा अरुण हल विराटनगर, निलम सिनेमाज जनकपुर, दीपक हल बरहथवा लगायतका हलहरू छन्।
निर्माण कम्पनी सेभेन सिस सिनेमाले हाउसफुल शो भए पनि कम ग्रसकलेक्सन रिपोर्ट दिएको भन्दै विज्ञप्ति जारी गरेको छ।
सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बरालको मुख्य भूमिका रहेको छ। अन्य भूमिकामा प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, र भोलाराज सापकोटा छन्।
चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन्।
निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदीले प्रस्तुत गरेको चलचित्रको कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन्।
For more: purnabahadurko sarangi itihas